शिक्षा र खेलकुदमा उत्कृष्ट ६३ विद्यार्थीलाई सुनकोशीको प्रोत्साहन, नगद पुरस्कारसहित सम्मान

भिजन समाचार
62
Shares

ओखलढुंगाको सुनकोशी गाउँपालिकाले शैक्षिक तथा खेलकुद क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने ६३ जना विद्यार्थी तथा खेलाडीलाई सम्मान गर्दै नगद पुरस्कार प्रदान गरेको छ । गाउँपालिकाले आधारभूत तह शिक्षा (कक्षा ८) परीक्षा, माध्यमिक शिक्षा परीक्षा (एसईई) तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी र पदक विजेता खेलाडीलाई सम्मान गरेको हो ।

गाउँ कार्यपालिकाको २०८२ चैत २३ गते बसेको बैठकले उत्कृष्ट विद्यार्थी तथा खेलाडीलाई प्रोत्साहनस्वरूप सम्मान र पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार आयोजित कार्यक्रममा शैक्षिक सत्र २०८२ को आधारभूत तह शिक्षा (बीएलई) कक्षा ८ परीक्षामा ३.८० जीपीए प्राप्त गरी प्रथम हुने चौतारा माध्यमिक विद्यालयका आयुष तामाङलाई १५ हजार रुपैयाँसहित सम्मान गरिएको छ ।

यस्तै दोस्रो स्थान हासिल गर्ने अभिनाश तामाङलाई १० हजार पाँच सय, तेस्रो स्थानका मोहन तामाङलाई सात हजार पाँच सय, चौथो स्थानका अशिष राईलाई पाँच हजार तथा पाँचौँ स्थानमा रहेका पुष्पा राई र उर्मिला श्रेष्ठलाई जनही तीन हजार पाँच सय रुपैयाँसहित सम्मान गरिएको छ ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) तर्फ ३.९५ जीपीएसहित प्रथम स्थान हासिल गर्ने कञ्चन अधिकारीलाई १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ । दोस्रो स्थानका मिनकुमार तिम्सिनाले १० हजार रुपैयाँ तथा तेस्रो स्थानकी नविना बस्नेतले सात हजार पाँच सय रुपैयाँ पुरस्कारसहित सम्मान प्राप्त गरेकी छन् ।

खेलकुदतर्फ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक जित्ने खेलाडीलाई पनि सम्मान तथा नगद पुरस्कार प्रदान गरिएको थियो । प्रदेशस्तरीय प्रतियोगितामा स्वर्ण पदक विजेतालाई १५ हजार, रजत पदक विजेतालाई १० हजार तथा कांस्य पदक विजेतालाई पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।

कबड्डीतर्फ रजत पदक जित्ने सुजता कट्वाल, मनिका कट्वाल, सिम्रन कार्की र संगीता राईले जनही १० हजार रुपैयाँ प्राप्त गरेका छन् । यस्तै २०० मिटर दौडमा कांस्य पदक जित्ने दिपा खत्री तथा कबड्डी छात्रतर्फ कांस्य पदक जित्ने सुवर्ण बस्नेत र दिलीप राउतले जनही पाँच हजार रुपैयाँ प्राप्त गरेका छन् ।

जिल्लास्तरीय प्रतियोगितामा विभिन्न खेल विधामा स्वर्ण पदक जित्ने प्रबुद्ध मावि, चौतारा मावि, थानी मावि र कालिका माविका २१ जना विद्यार्थीलाई जनही पाँच हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिएको छ । त्यसैगरी, छात्र भलिबल टोलीसहित विभिन्न दौड प्रतियोगितामा रजत पदक हासिल गर्ने १९ जना खेलाडीलाई जनही तीन हजार पाँच सय रुपैयाँ वितरण गरिएको छ ।

यस्तै जिल्ला स्तरीय प्रतियोगितामा कबड्डी छात्र टोली तथा एथलेटिक्सका विभिन्न विधामा कांस्य पदक जित्ने १६ जना खेलाडीलाई जनही दुई हजार रुपैयाँ प्रदान गरिएको छ ।

विद्यार्थी तथा खेलाडीलाई पुरस्कार वितरण गर्दै गाउँपालिका अध्यक्ष कमल तामाङले स्थानीय विद्यार्थी र खेलाडीले हासिल गरेका उपलब्धिले गाउँपालिकाको गौरव बढाएको बताए । सफलता प्राप्त गर्न निरन्तर प्रयास, अनुशासन, लगनशीलता र सकारात्मक सोचको महत्वपूर्ण भूमिका रहने उनको भनाइ थियो ।

कार्यक्रममा बोल्दै शिक्षाविद् तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष डा. खिलराज सापकोटाले शिक्षा र खेलकुद एकअर्काका परिपूरक क्षेत्र भएको उल्लेख गरे । उनले खेलकुदले अनुशासन, आत्मविश्वास, नेतृत्व क्षमता तथा शारीरिक स्वास्थ्य विकासमा महत्वपूर्ण योगदान पु¥याउने बताउँदै सम्मान तथा पुरस्कारले विद्यार्थी र खेलाडीलाई अझ उत्कृष्ट प्रदर्शन गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरे ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्रबहादुर राईले विद्यार्थी तथा युवामा लुकेको प्रतिभा उजागर गर्न र उनीहरूलाई निरन्तर हौसला प्रदान गर्न गाउँपालिकाले यस्तो प्रोत्साहन नीति सुरु गरेको बताए । आगामी दिनमा पनि शिक्षा र खेलकुद क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्नेहरूलाई सम्मान गर्ने परम्परालाई निरन्तरता दिइने उनले प्रतिबद्धता जनाए ।

गाउँपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख विवेक तामाङका अनुसार पालिकाले तीन लाख ४१ हजार रुपैयाँ बजेटबाट उक्त पुरस्कार वितरण गरेको हो ।

कार्यक्रममा सहभागी वक्ताहरूले सम्मान र पुरस्कारले विद्यार्थी तथा खेलाडीमा थप उत्साह, प्रतिस्पर्धात्मक क्षमता र आत्मविश्वास वृद्धि हुने विश्वास व्यक्त गर्दै यस्ता कार्यक्रमले गाउँपालिकाभित्र शैक्षिक तथा खेलकुद गतिविधिलाई अझ सशक्त बनाउने बताएका थिए ।