नेकपा (एमाले) परित्याग गरी गत संघीय निर्वाचनमा नेकपाका उम्मेदवार अम्बिरबाबु गुरुङको पक्षमा खुलेर चुनावी अभियानमा सक्रिय भएका ओखलढुंगाका तीन जना वडा अध्यक्षको पद अन्ततः गुमेको छ । निर्वाचन आयोगले सूचना प्रकाशित गर्दै राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुसार दल त्याग गरी अर्को दलमा प्रवेश गरेका जनप्रतिनिधिको पद स्वतः रिक्त हुने व्यवस्था बमोजिम उनीहरूको पद रिक्त भएको जनाएको हो ।
पद गुमाउनेहरूमा मोलुङ गाउँपालिका–१ का वडा अध्यक्ष कमल बहादुर बानियाँ, मोलुङ गाउँपालिका–६ का वडा अध्यक्ष कमल तामाङ तथा चम्पादेवी गाउँपालिका–७ का वडा अध्यक्ष सुरेश कुमार थापा रहेका छन् । उनीहरू २०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट निर्वाचित भएका थिए ।

कोशी प्रदेशका पूर्वमन्त्री तथा एमालेका प्रभावशाली नेता अम्बिरबाबु गुरुङले पार्टीबाट टिकट नपाएपछि २०८२ फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा नेकपाको तारा चिन्हबाट उम्मेदवारी दिएका थिए । त्यसक्रममा एमालेबाट निर्वाचित जिल्लाका ३ जना वडा अध्यक्षहरूले समेत पार्टी लाइनविपरीत खुलेर गुरुङको पक्षमा चुनावी गतिविधि सञ्चालन गरेका थिए । उनीहरू एमाले परित्याग गरी नेकपामा आबद्ध भएकाले कारबाही गर्न एमालेले निर्वाचन आयोगलाई जानकारी गराएको थियो ।
सोही आधारमा आयोगले उनीहरूको पद स्वतः रिक्त भएको निर्णय गर्दै सार्वजनिक सूचना जारी गरेको हो । आयोगको निर्णयसँगै ओखलढुंगाका मोलुङ र चम्पादेवी गाउँपालिकाका तीन वडामा वडा अध्यक्ष पद रिक्त भएको छ ।
राजनीतिक वृत्तमा लामो समयदेखि चर्चाको विषय बनेको यो प्रकरण आयोगको निर्णयसँगै औपचारिक रूपमा टुंगिएको छ ।
अब रिक्त पदपूर्तिका लागि कानुन बमोजिम आगामी प्रक्रिया अघि बढ्नेछ वा निर्वाचन आयोगको निर्णय विरुद्ध पद गुमाएका वडाअध्यक्षहरु अदालत गएर पूनर्वहाली हुनेछन् ।
यसपटक एमाले त्यागेर नेकपामा प्रवेश गरेर पद गुमाएका मध्ये चम्पादेवी ७ का वडाअध्यक्ष सुरेश थापा अघिल्लो पटक नेकपा (तत्कालिन माओवादी) परित्याग गरि एमालेमा प्रवेश गरेका नेता हुन् । अघिल्लो कार्यकालमा दलअदलबदल गर्दा निर्वाचन आयोगले हटाएपनि अदालतबाट मुद्दा जितेर वडाअध्यक्ष पदमा पुनः फर्किएका थिए ।
गत निर्वाचनमा एमाले जिल्ला कमिटीका तत्कालिन अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिवसहित अधिकांश जनसंगठन र पालिका कमिटीका पदाधिकारीहरु अम्बिरबाबु गुरुङलाई जिताउन तारामा भोट माग्न खुलेका थिए ।
एमाले भित्रको फुटको फाइदा उठाउँदै राश्वपाले चुनाव जितेको थियो । राश्पपासँग कांग्रेस ५ मतले पराजित भएको थियो । जिल्लामा नेकपाका उम्मेदवारले तेस्रो भोट ल्याउँदा उम्मेदवारी चयनमा सर्वसम्मत निर्णय गर्न नसकेको एमाले चौथो बनेको थियो ।

प्रतिक्रिया