सूर्य त्यागेर तारामा भाेट माग्ने ओखलढुंगाका तीन वडा अध्यक्षको पद गुम्यो

भिजन समाचार
204
Shares

नेकपा (एमाले) परित्याग गरी गत संघीय निर्वाचनमा नेकपाका उम्मेदवार अम्बिरबाबु गुरुङको पक्षमा खुलेर चुनावी अभियानमा सक्रिय भएका ओखलढुंगाका तीन जना वडा अध्यक्षको पद अन्ततः गुमेको छ । निर्वाचन आयोगले सूचना प्रकाशित गर्दै राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुसार दल त्याग गरी अर्को दलमा प्रवेश गरेका जनप्रतिनिधिको पद स्वतः रिक्त हुने व्यवस्था बमोजिम उनीहरूको पद रिक्त भएको जनाएको हो ।

पद गुमाउनेहरूमा मोलुङ गाउँपालिका–१ का वडा अध्यक्ष कमल बहादुर बानियाँ, मोलुङ गाउँपालिका–६ का वडा अध्यक्ष कमल तामाङ तथा चम्पादेवी गाउँपालिका–७ का वडा अध्यक्ष सुरेश कुमार थापा रहेका छन् । उनीहरू २०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट निर्वाचित भएका थिए ।

कोशी प्रदेशका पूर्वमन्त्री तथा एमालेका प्रभावशाली नेता अम्बिरबाबु गुरुङले पार्टीबाट टिकट नपाएपछि २०८२ फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा नेकपाको तारा चिन्हबाट उम्मेदवारी दिएका थिए । त्यसक्रममा एमालेबाट निर्वाचित जिल्लाका ३ जना वडा अध्यक्षहरूले समेत पार्टी लाइनविपरीत खुलेर गुरुङको पक्षमा चुनावी गतिविधि सञ्चालन गरेका थिए । उनीहरू एमाले परित्याग गरी नेकपामा आबद्ध भएकाले कारबाही गर्न एमालेले निर्वाचन आयोगलाई जानकारी गराएको थियो ।

सोही आधारमा आयोगले उनीहरूको पद स्वतः रिक्त भएको निर्णय गर्दै सार्वजनिक सूचना जारी गरेको हो । आयोगको निर्णयसँगै ओखलढुंगाका मोलुङ र चम्पादेवी गाउँपालिकाका तीन वडामा वडा अध्यक्ष पद रिक्त भएको छ ।

राजनीतिक वृत्तमा लामो समयदेखि चर्चाको विषय बनेको यो प्रकरण आयोगको निर्णयसँगै औपचारिक रूपमा टुंगिएको छ ।

अब रिक्त पदपूर्तिका लागि कानुन बमोजिम आगामी प्रक्रिया अघि बढ्नेछ वा निर्वाचन आयोगको निर्णय विरुद्ध पद गुमाएका वडाअध्यक्षहरु अदालत गएर पूनर्वहाली हुनेछन् ।

यसपटक एमाले त्यागेर नेकपामा प्रवेश गरेर पद गुमाएका मध्ये चम्पादेवी ७ का वडाअध्यक्ष सुरेश थापा अघिल्लो पटक नेकपा (तत्कालिन माओवादी) परित्याग गरि एमालेमा प्रवेश गरेका नेता हुन् । अघिल्लो कार्यकालमा दलअदलबदल गर्दा निर्वाचन आयोगले हटाएपनि अदालतबाट मुद्दा जितेर वडाअध्यक्ष पदमा पुनः फर्किएका थिए ।

गत निर्वाचनमा एमाले जिल्ला कमिटीका तत्कालिन अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिवसहित अधिकांश जनसंगठन र पालिका कमिटीका पदाधिकारीहरु अम्बिरबाबु गुरुङलाई जिताउन तारामा भोट माग्न खुलेका थिए ।

एमाले भित्रको फुटको फाइदा उठाउँदै राश्वपाले चुनाव जितेको थियो । राश्पपासँग कांग्रेस ५ मतले पराजित भएको थियो । जिल्लामा नेकपाका उम्मेदवारले तेस्रो भोट ल्याउँदा  उम्मेदवारी चयनमा सर्वसम्मत निर्णय गर्न नसकेको एमाले चौथो बनेको थियो ।