ओखलढुंगा । खिजिदेम्बा गाउँपालिका–२ रगनीस्थित चण्डेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तबहादुर मगरलाई सार्वजनिक स्थलमै संघीय सांसद विश्वराज पोखरेलले हप्काएको भिडियो सार्वजनिक भएपछि जिल्लामा नयाँ तरंग सिर्जना भएको छ । घटनापछि सांसद स्वयंले आफ्नो व्यवहारप्रति क्षमायाचना गरिसकेका छन् । तर, त्यसपछि पनि विद्यालय र प्रधानाध्यापकबाट पटक–पटक क्षमायाचना आउन थालेपछि विषयले थप बहस जन्माएको छ ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा सांसद पोखरेल विद्यालयमा पुगेका बेला आफूलाई उचित सम्मान नगरिएको भन्दै आक्रोशित बनेर प्रधानाध्यापक मगरलाई सार्वजनिक रूपमै झपारिरहेको देखिन्छ । उक्त घटनापछि प्रधानाध्यापक मगरले तत्कालै क्षमायाचना गरेको र आफूले गल्ती महसुस गरेको बताएका थिए । पछि एक भिडियो अन्तरवार्तामार्फत पनि उनले सांसदप्रति क्षमा व्यक्त गरेका थिए ।
घटनाको चौतर्फी आलोचना भएपछि सांसद पोखरेलले समेत विज्ञप्ति जारी गर्दै आफ्नो व्यवहारप्रति आत्मालोचना गरेका थिए । उनले प्रधानाध्यापकमाथि भएको व्यवहार अनुचित भएको स्वीकार गर्दै क्षमायाचना गरेका थिए । दुवै पक्षबाट गल्ती महसुस गर्दै विषय साम्य पार्ने प्रयास भइरहेका बेला आज मंगलबार फेरि विद्यालयले औपचारिक प्रेस विज्ञप्ति जारी गर्दै सांसदप्रति पुनः क्षमायाचना गरेको छ ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष टेकबहादुर बुढाथोकी र प्रधानाध्यापक सन्तबहादुर मगरद्वारा हस्ताक्षरित विज्ञप्तिमा वैशाख १० गते बिहान सांसद पोखरेल विद्यालयको समस्या तथा शैक्षिक गतिविधिबारे जानकारी लिन पूर्वनिर्धारित कार्यक्रमअनुसार विद्यालय पुगेको उल्लेख गरिएको छ । सो समयमा प्रधानाध्यापक मगर आफ्नै कार्यकक्षमा विद्यालयका समस्या तथा मागहरू समेटिएको मागपत्र तयार गर्ने क्रममा व्यस्त रहेकाले सांसदको आगमनबारे तत्काल जानकारी हुन नसकेको विज्ञप्तिमा जनाइएको छ ।
पछि स्वागतका लागि बाहिर निस्कँदा सांसद पोखरेल विद्यालय परिसरबाट बाहिरिइसकेको र त्यसपछि विद्यालयका प्रतिनिधिहरूले बाहिर भेटेर मागपत्र बुझाउँदै स्वागत गर्ने प्रयास गरेको उल्लेख छ । सो क्रममा सांसद पोखरेलको अभिव्यक्तिप्रति विद्यालयको ध्यानाकर्षण भएको जनाइएको छ । घटनापछि विद्यालयमै छलफल गरी विषय समाधानतर्फ अघि बढाइएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
तर, सार्वजनिक रूपमा सांसदको व्यवहार नै अनुचित देखिएको अवस्थामा उल्टै विद्यालय र प्रधानाध्यापकबाट निरन्तर क्षमायाचना आउन थालेपछि जिल्लामा नयाँ बहस सुरु भएको छ । धेरैले “गल्ती गर्ने सांसद, तर माफी मागिरहने प्रधानाध्यापक किन ?” भन्ने प्रश्न उठाइरहेका छन् ।
शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूले सार्वजनिक पदमा रहेका व्यक्तिबाट संयमित व्यवहार अपेक्षा गरिने बताएका छन् । अर्कोतर्फ, विद्यालय प्रशासनमाथि राजनीतिक वा सामाजिक दबाब परेको हो कि भन्ने आशंका समेत व्यक्त हुन थालेको छ ।
सार्वजनिक रूपमा हप्काइ खाएका प्रधानाध्यापक अन्ततः किन पटक–पटक क्षमा माग्न बाध्य भए ? यो प्रश्न अहिले ओखलढुंगामा मात्रै होइन, सामाजिक सञ्जाल र शिक्षा वृत्तमा समेत चासोको विषय बनेको छ ।

प्रतिक्रिया