सांसद पोखरेल विरुद्ध जिल्लाभरका शिक्षक संघसंगठन आक्रोशित

भिजन समाचार
72
Shares

ओखलढुंगा । प्रतिनिधिसभा सदस्य विश्वराज पोखरेलले विद्यालयका प्रधानाध्यापकमाथि गरेको भनिएको दुर्व्यवहार प्रकरणले जिल्लाभर शिक्षक समुदायमा तीव्र असन्तुष्टि देखिएको छ । विभिन्न शिक्षक तथा कर्मचारी संगठनहरूले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति कडा आपत्ति जनाएका हुन् ।

खिजिदेम्बा गाउँपालिका–२ का चण्डेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तबहादुर मगरमाथि गरिएको व्यवहारलाई लिएर शिक्षक संगठनहरू आन्दोलित बनेका छन् । उनीहरूले विद्यालय जस्तो शान्ति क्षेत्रमै जनप्रतिनिधिबाट अराजक, दम्भपूर्ण र धम्कीपूर्ण शैली प्रदर्शन हुनु गम्भीर विषय भएको बताएका छन् ।

शिक्षक संगठनहरूको भनाइमा यस्ता गतिविधिले शिक्षकहरूको मनोबल कमजोर बनाउनुका साथै समग्र शैक्षिक वातावरणमै नकारात्मक असर पार्ने खतरा रहेको छ । “शिक्षक कुनै व्यक्तिका अधीनमा रहने कर्मचारी मात्र नभई चेतनाका संवाहक हुन्,” विज्ञप्तिमा उल्लेख गरिएको छ, “त्यसैले शिक्षक र विद्यालयको गरिमा जोगाउनु सबैको दायित्व हो ।”

उनीहरूले जिम्मेवार पदमा रहेका व्यक्तिबाट आएको अभिव्यक्तिप्रति आत्मआलोचना गर्न सांसद पोखरेललाई आग्रह गरेका छन् । साथै, यस्ता घटनालाई बेवास्ता गरिए थप कडा कदम चाल्न बाध्य हुने चेतावनी समेत दिएका छन् ।

संयुक्त विज्ञप्तिमा विभिन्न संघ–संगठनका अध्यक्षहरू रमेश कुमार अधिकारी, सुरेन्द्र खड्का, इन्द्र लुइटेल, तोयानाथ काफ्ले र काशिनाथ धमलाको हस्ताक्षर रहेको छ । उनीहरूले सम्पूर्ण शिक्षक तथा कर्मचारीलाई संयमित रहँदै आफ्नो जिम्मेवारीमा प्रतिबद्ध हुन पनि आह्वान गरेका छन् ।

यसअघि प्रधानाध्यापक मगरलाई झपारेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएसँगै घटनाले व्यापक चर्चा पाएको थियो । सांसद पाेखरेलले एक विज्ञप्ती जारी गरेर घटना प्रति क्षमायाचना गरेका छन् । पाेखरेलकाे शैली र अभिव्यक्ती प्रति चाैतर्फी आलाेचना भएकाे छ ।