बाल यौन दुर्व्यवहार मुद्वामा खेलकुद विकास समितिका प्रमुख विरुध्द पक्राउ पुर्जी जारी

भिजन समाचार
3.5k
Shares

जिल्ला खेलकुद विकास समिति ओखलढुंगाका कार्यालय प्रमुख बालकुमार खनाल विरुध्द पक्राउ पुर्जी जारी भएको छ । बाल यौन दुर्व्यवहार मुद्वामा जिल्ला अदालत ओखलढुंगाले आईतबार पक्राउ पुर्जी जारी गरेको हो ।

यौन सम्पर्कका लागि १३ वर्षिया बालिकालाई ‘फकाउन’ कार्यालय सहयोगी परिचालन गर्ने हाकिमविरूद्ध पक्राउ पुर्जी जारी भएको हो ।

खनालले १३ वर्षीया बालिकालाई आफूसँग सम्बन्ध राख्न फकाइदिन भनेर कार्यालयकै सहयोगी प्रमिला विश्वकर्मालाई परिचालन गरेको आरोप छ।

प्रमिला साउन २१ गते नै पक्राउ परिसकेकी छन्।

उनकै बयानका आधारमा प्रहरीले खनाललाई पनि पक्राउ गर्न जिल्ला अदालतसँग अनुमति लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विक्रम भट्टराईले भिजनलाई जानकारी दिए । उनका अनुसार अदालतले खनालविरूद्ध पनि अनुसन्धान गर्नुपर्ने देखिएपछि पक्राउ अनुमति दिएको हो।

प्रमिलालाई नियन्त्रणमा लिएर सोधपुछ थालेदेखि कार्यालय प्रमुख खनाल फरार थिए। पक्राउ पुर्जी जारी भएपछि उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।