हाकिमलाई सेक्सपार्टनर खोज्ने कार्यालय सहयोगी पक्राउ

भिजन समाचार
16.5k
Shares

ओखलढुंगामा हाकिमका लागि सेक्स पार्टनर खोज्ने महिला कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला खेलकुद विकास समिति ओखलढुंगाका कार्यालय प्रमुख बालकुमार खनालसँग यौन सम्पर्क गर्न एक किशोरीलाई प्रलोभनमा पार्न खोज्ने सो कार्यलयकी कार्यालय सहयोगी प्रमिला विश्वकर्मालाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको हो ।

कार्यालय प्रमुख खनालले मन पराएकी भनिएकी १३ वर्षिया एक किशोरीलाई विभिन्न प्रलोभन देखाएर विश्वकर्माले फकाएकी थिइन् । गलत मनसायले सुरु भएको उक्त कुराकानी किशोरीले रेकर्ड राखिन् । विद्यालय उमेरकी किशोरीले साथीभाई र शिक्षकलाई सुनाइन् । विद्यार्थी, अभिभावक, शिक्षक र सरोकारवालाले समेत अन्याय नसहन र न्यायका लागि जान सुझाए । लगत्तै किशोरीले प्रहरीमा उजुरी दिइन् । उजुरीका आधारमा प्रहरीले कार्यालय सहयोगी विश्वकर्मालाई साउन २१ गते पक्राउ ग¥यो । बालबालिका विरुद्धको कसुरमा ५ दिनको म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रहरी स्रोतका अनुसार सुरुका दिनमा आफैंले हाकिम खुसीपार्न ति किशोरीसँग यो प्रस्ताव गरेको वयान दिएकी विश्वकर्माले अनुसन्धानकै क्रममा कार्यालय प्रमुख खनालको अनुरोध अनुसार आफुले ति किशोरीलाई खनालसँग यौन सम्पर्कका लागि प्रस्ताव गरेको बयान दिएकी छन् ।

स्रोतका अनुसार खनालले विश्वकर्मालाई प्रयोग गरेका हुन् वा विश्वकर्माले खनालको नाम जोडेर कुरा गरेकी हुन् भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

खनालको नाम जोडेर विश्वकर्माले यौन प्रस्ताव गरेको २६ मिनेट २४ सेकेण्डको अडियो रेकर्ड भिजनसँग सुरक्षित छ ।

उक्त अडियोमा विश्वकर्माले ति किशोरीलाई बालकुमार खनालसँग घुम्न जान तयार हुन, यौन सम्पर्क गर्न र नियमित साथीका रुपमा रहन पटक–पटक अनुरोध गरेको सुनिन्छ । बच्चा नबस्ने खाने औषधी खुवाउने भएकाले ढुक्क हुन ढाडस दिएको र मोवाईल किन्दिने, पढाइ खर्च दिने, घुमाउन लैजाने, खेलकुदका कार्यक्रममा खेल हेर्न जाँदा भत्तासमेत मिलाइदिने लगायतका आश्वासन दिएको प्रष्ट सुनिन्छ ।

‘अहिलेको जमानामा को चोखो हुन्छ र ? ठुलै मान्छेसँग सम्पर्कमा रहनुपर्छ । अहिले सरसँग रमाउनु पछि अर्कैसँग विवाह गर्नु तर यो कुरा अरु कसैलाई नभन्नु नि, हामी महिलाको इज्जत जान्छ । इज्जतको ख्याल गर, कसैले थाह नपाइ मोज गर’ भन्ने विश्वकर्मा अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा छिन् ।

यस विषयमा प्रतिक्रिया लिन खेलकुद विकास समितिका कार्यालय प्रमुख बालकुमार खनाललाई भिजनले सम्पर्क गर्दा उनको फोन लागेन ।