ककनी गौरीवन सहकारी बचत ठगीः कोषाध्यक्ष नेम्वाङ पक्राउ

भिजन समाचार
2.6k
Shares

बचतकर्ताको रकम ठगी आरोपमा ओखलढुंगा प्रहरीले थप एक जना पक्राउ गरेको छ । ककनी गौरीवन कृषि सहकारी संस्था लिमिटेडका कोषाध्यक्ष पाँचथर जिल्ला साबिक इङबुङ गाविस–१ हाल सिद्धिचरण नगरपालिका–१२ भैरबटोल ओखलढुंगा बस्ने ४८ वर्षिय नेत्रबहादुर नेम्वाङलाई प्रहरीले पक्राउ गरेको हो । उनी लामो समय देखी फरार थिए ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगा बाट खटिएको प्रहरी टोलीले कोषाध्यक्ष नेम्बाङलाई शुक्रबार सिद्धिचरण नगरपालिका–६ जन्तरखानीबाट पक्राउ गरेको प्रहरी निरिक्षक बालिस्टार सिंहले बताए । बचतकर्ताहरुको बचत रकम हिनामिना गरेको आरोपमा प्रहरीले यस अघि सहकारीका अध्यक्ष विनोद सुनुवार र उपाध्यक्ष पदमबहादुर खत्रीलाई पक्राउ गरिसकेको छ ।
पक्राउ परेका अध्यक्ष सुनुवार र उपाध्यक्ष खत्रि उपर प्रहरीले अनुसन्धान गरिरहेको छ । जिल्ला अदालतबाट थुनामा राखेर अनुसन्धान गर्न ६ दिनको म्याद लिइएको प्रहरी निरिक्षक सिंहको भनाई छ । पक्राउ परेको सहकारीका अध्यक्ष सुनुवार नेकपा माओवादी केन्द्र ओखलढुंगाका जिल्ला सचिव हुन् ।
जिल्लाको चम्पादेवी गाउँपालिका–९ विलन्दु स्थायी घर भएका सहकारीका अध्यक्ष सुनुवारलाई काठमाण्डौं महानगरपालिका–६ बौद्धबाट र मोलुङ गाउँपालिका–४ हर्कपुर ओखलढुंगाका पदम बहादुर खत्रीलाई घरैबाट बुधबार पक्राउ गरिएको प्रहरी निरीक्षक बालिष्टार सिंहले जानकारी दिए ।
बचतकर्ता मध्येका तिलक श्रेष्ठले गत मंसिर १५ गते सहकारीका सञ्चालक विरुद्ध जाहेरी दर्ता गरेका थिए । ककनी गौरीबन कृषी सहकारी संस्थामा बचत गरेको रकम झिक्न खोज्दा विभिन्न बहानामा सहरकारीका सञ्चालकले रकम फिर्ता नगरको भन्दै कानुन अनुसारका कारबाहीको माग गरेर बचतकर्ताहरुले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
उजुरी प्राप्त भएपछि प्रहरीले उजुरीकर्ता र सहकारी सञ्चालकलाई समस्या समाधानका लागि जिल्ला प्रहरी कार्यालयमा छलफल गराएको थियो । एक साता भित्र बचतकर्ताको रकम फिर्ता गर्ने सहमति गरेका सहकारीका अध्यक्ष विनोद सुनुवारसहित सहकारीका पदाधिकारी रकम फिर्ता गर्नुको सट्टा सम्पर्क विहिन भएपछि प्रहरीले कानुनी प्रकृया अघि बढाएको थियो ।
अनौपचारिक सहमतिका आधारमा तोकिएको समयमा पनि बचतकर्ताको रकम फिर्ता नभएपछि अदालतले सहकारी सञ्चालक विरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । पक्राउ पूर्जी जारी भएपछि ककनी गौरीवन सहकारी संस्थाका अध्यक्ष, उपाध्यक्ष तथा सञ्चालक समितिका पदाधिकारीहरु फरार भएका थिए । सहकारी अन्य सञ्चालक समितिका पदाधिकारी अझै फरार छन् ।
यसै क्रममा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले शुक्रबार एक सुचना जारी गरी यस सहकारी संस्थाबाट कोही ठगीमा परी पीडित भएको भए जाहेरी दर्खास्त दिन अनुरोध गरेको छ । ठगिमा परेकाले उजुरी दिन बाँकी कोही भए जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।

सम्बन्धीत थप समाचार