बचतकर्ताको रकम ठगी आरोपमा सहकारीका अध्यक्ष र उपाध्यक्ष पक्राउ

बचतकर्ताको रकम ठगी आरोपमा सहकारीका अध्यक्ष र उपाध्यक्ष पक्राउ


भिजन समाचार
39.7k
Shares

बचतकर्ताको रकम ठगी आरोपमा ओखलढुंगाको ककनी गौरीवन सहकारीका अध्यक्ष र उपाध्यक्ष पक्राउ परेका छन् । बचतकर्ताहरुको बचत रकम हिनामिना गरेको आरोपमा प्रहरीले सहकारीका अध्यक्ष विनोद सुनुवार र उपाध्यक्ष पदमबहादुर खत्रीलाई पक्राउ गरेको हो । पक्राउ परेको सहकारीका अध्यक्ष सुनुवार नेकपा माओवादी केन्द्र ओखलढुंगाका  जिल्ला सचिव हुन् ।

जिल्लाको चम्पादेवी गाउँपालिका वडा नं. ९ विलन्दु स्थायी घर भएका सहकारीका अध्यक्ष सुनुवारलाई काठमाण्डौं महानगरपालिका वडा नं. ६ बौद्धबाट र मोलुङ गाउँपालिका ४ हर्कपुरका पदम बहादुर खत्रीलाई घरैबाट बुधबार पक्राउ गरिएको प्रहरी निरीक्षक बलिष्टार सिंहले जानकारी दिए । अदालतबाट थुनामा राखेर अनुसन्धान गर्न ६ दिनको म्याद लिइएको छ ।

बचतकर्ता मध्येका तिलक श्रेष्ठ समेतले गत मंसिर १५ गते सहकारी विरुद्ध जाहेरी दर्ता गरेका थिए । ककनी गौरीबन सहकारी संस्थामा राखेको र उक्त बचत रकम झिक्न खोज्दा विभिन्न बहानामा सहरकारीका सञ्चालकले रकम फिर्ता नगरको भन्दै कानुन अनुसारका कारबाहीको माग गरेर बचतकर्ताहरुले  जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

उजुरी प्राप्त भएपछि प्रहरीले उजुरीकर्ता र सहकारी सञ्चालकलाई समस्या समाधानका लागि जिल्ला प्रहरी कार्यालयमा छलफल गराएको थियो । १ साता भित्र बचतकर्ताको रकम फिर्ता गर्ने सहमति गरेका सहकारीका अध्यक्ष विनोद सुनुवारसहित सहकारीका पदाधिकारी रकम फिर्ता गर्नुको सट्टा सम्पर्क विहिन भएपछि प्रहरीले कानुनी प्रकृया अघि बढाएको थियो ।

अनौपचारिक सहमतिका आधारमा तोकिएको समयमा पनि बचतकर्ताको रकम फिर्ता नभएपछि अदालतले सहकारी सञ्चालक विरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । पक्राउ पूर्जी जारी भएपछि ककनी गौरीवन सहकारी संस्थाका अध्यक्ष, उपाध्यक्ष तथा सञ्चालन समितिका पदाधिकारीहरु फरार भएका थिए ।

सहकारी अन्य सञ्चालक समितिका पदाधिकारी पनि फरार छन् ।