बाढी प्रभावितको उद्धार र उपचार गर्न खिजीदेम्बाका अध्यक्ष गम्बु शेर्पाको सरकारसँग माग

भिजन समाचार
0
Shares

ओखलढुंगा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको तत्काल उद्धार, उपचार, राहत तथा पुनःस्थापनाको व्यवस्था गर्न खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाले सरकारसँग माग गरेका छन्  । बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएकोप्रति दुःख व्यक्त गर्दै अध्यक्ष शेर्पाले विपद्को यस कठिन अवस्थामा प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहतका काम तीव्र बनाउन सरकारसँग आग्रह गरेका हुन् ।

उनले बाढीका कारण जोखिममा रहेका सर्वसाधारण, पर्यटक, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी तथा विद्यार्थीको तत्काल खोजी तथा उद्धार गर्नुपर्ने बताएका छन् । साथै घाइतेको प्रभावकारी उपचार र विस्थापित तथा प्रभावित परिवारको सुरक्षित पुनःस्थापनामा विशेष ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

बाढीले नदी आसपासका बस्ती, सडक, पुल, जलविद्युत् आयोजना, व्यापारिक तथा सरकारी संरचनालगायत भौतिक पूर्वाधारमा समेत ठूलो क्षति पु¥याएको भन्दै अध्यक्ष शेर्पाले क्षतिको यथार्थ विवरण संकलन गरी राहत तथा पुनर्निर्माणको काम तत्काल अघि बढाउन माग गरेका छन् ।

विपद् प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि संघ, प्रदेश र स्थानीय सरकारसहित सुरक्षा निकाय, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा सम्बन्धित सबै निकाय एकजुट भएर परिचालन हुनुपर्नेमा उनले जोड दिएका छन् ।

अध्यक्ष शेर्पाले बाढीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

साथै विपद्मा परेका सबै नागरिकको शीघ्र उद्धार, उपचार र सुरक्षित पुनःस्थापनाको काम प्रभावकारी रूपमा अघि बढाउन सरकारसँग आग्रह गरेका छन् ।

रसुवाको बाढीमा खिजीदेम्बाका केही नागरिक बेपत्ता भएका छन् ।