सुन्तला खेती प्रवद्र्धनका लागि ओखलढुंगाको ज्यामिरेका कृषकलाई प्रदर्शन र प्रशिक्षणसहित आधुनिक कृषि सामग्री प्रदान गरिएको छ । सुन्तला खेतीको उत्पादन र गुणस्तर वृद्धि गर्ने उद्देश्यले आधुनिक कृषि प्रविधि तथा सामग्रीबारे विज्ञद्वारा व्यवहारिक प्रशिक्षण दिइएको हो ।
कृषि विकास निर्देशनालय विराटनगरको आयोजना तथा विश्वविद्यालय तथा अनुसन्धान केन्द्र र कृषि ज्ञान केन्द्र ओखलढुंगाको समन्वयमा सञ्चालन गरिएको कार्यक्रममा सुन्तला खेतीमा प्रयोग हुने आधुनिक कृषि प्रविधि, बाली संरक्षण सामग्री तथा कृषि औजारको प्रयोगबारे कृषकलाई व्यवहारिक जानकारी दिइएको थियो ।
कार्यक्रममा सुन्तला बगैंचामा देखिने रोग तथा कीरा व्यवस्थापन, खाद्य तत्व व्यवस्थापन र वैज्ञानिक बगैंचा व्यवस्थापनका विषयमा समेत जानकारी प्रदान गरिएको कृषि ज्ञान केन्द्र ओखलढुंगाका प्रमुख पेशल खतिवडाले बताए
कार्यक्रमअघि सुन्तला उत्पादन हुने क्षेत्रको स्थलगत अवलोकन गरी कृषकसँग छलफलमार्फत खेतीमा देखिएका समस्या र चुनौती पहिचान गरिएको थियो । त्यसपछि विश्वविद्यालय तथा अनुसन्धान केन्द्रसँग समन्वय गरी आवश्यक प्रविधि, कृषि सामग्री तथा व्यवस्थापन अभ्यास छनोट गरी स्थलगत प्रदर्शन तथा तालिम सञ्चालन गरिएको हो ।
कार्यक्रममा करिब दुई लाख रुपैयाँ बराबरका कृषि सामग्री जाल्पादेवी देउसीभैलो कृषक समूहका कृषकलाई वितरण गरिएको केन्द्र प्रमुख खतिवडाले जानकारी दिए ।
वितरण गरिएका सामग्रीमा चार्ज हुने इलेक्ट्रिक पावर स्प्रेयर, न्यापस्याक इलेक्ट्रिक स्प्रेयर, विभिन्न प्रकारका ढुसीनाशक तथा कीटनाशक विषादी, प्रोटिन बेट, बोनमिल, सूक्ष्म पोषकतत्व, फल झर्ने समस्या कम गर्ने प्लान्ट ग्रोथ रेगुलेटर (एनएए), प्रुनिङ स र सिकेचर लगायतका सामग्री रहेका थिए ।
वितरण गरिएका सामग्रीको सही र सुरक्षित प्रयोग गर्ने तरिकाबारे पनि कृषकलाई व्यवहारिक जानकारी गराइएको थियो ।
आधुनिक कृषि औजार र वैज्ञानिक बगैंचा व्यवस्थापन प्रविधिको प्रयोगबाट सुन्तला खेतीमा देखिने समस्या न्यूनीकरण हुनुका साथै उत्पादन, गुणस्तर र कृषकको आम्दानी बढ्ने अपेक्षा गरिएको केन्द्रले जनाएको छ ।
कार्यक्रममा कृषि विकास निर्देशनालय विराटनगरका वरिष्ठ बागवानी विकास अधिकृत टोनि बर्देवा लगायतका प्रतिनिधि उपस्थित थिए ।
यस्तै सिद्धिचरण नगरपालिका–९ का वडा अध्यक्ष गुणराज खड्का तथा जनप्रतिनिधि, विश्वविद्यालय तथा अनुसन्धान केन्द्रका प्रतिनिधि, कृषि ज्ञान केन्द्र ओखलढुंगाका कर्मचारी, ज्यामिरेका सुन्तला कृषक, स्थानीय कृषक समूह तथा सहकारी संस्थाका पदाधिकारी एवं सदस्य तथा स्थानीय तहका कृषि प्राविधिक र कृषि शाखाका कर्मचारी सहभागी थिए ।

प्रतिक्रिया