काठमाडाैं । गुगलको मातृ कम्पनी अल्फाबेटले अमेरिकाको क्यालिफोर्निया र फ्लोरिडामा ३ करोड २० लाख लामखुट्टे छोड्ने तयारी गरेको छ । यो अभियान लामखुट्टेको सङ्ख्या बढाउन नभई डेङ्गु, जिका र चिकनगुनिया जस्ता रोग फैलाउने एडिस एजिप्टाई प्रजातिका लामखुट्टेलाई नियन्त्रण गर्न लक्षित वैज्ञानिक प्रयास हो ।
परियोजना अनुसार वोल्बाचिया ब्याक्टेरिया सङ्क्रमित बाँझो भाले लामखुट्टे क्यालिफोर्निया र फ्लोरिडामा छोडिनेछन् । यी भाले लामखुट्टेले जङ्गली पोथीसँग संसर्ग गर्दा अण्डाबाट बच्चा ननिस्कने भएकाले समयसँगै लामखुट्टेको सङ्ख्या घट्ने वैज्ञानिकहरूको विश्वास छ ।
भाले लामखुट्टेले मानिसलाई नटोक्ने र रोग पनि नसार्ने भएकाले यो विधि सुरक्षित मानिएको छ । यसअघि सिङ्गापुरमा गरिएको परीक्षणमा लामखुट्टेको सङ्ख्या ८०–९० प्रतिशत र डेङ्गु संक्रमण ७० प्रतिशतसम्म घटेको दाबी गरिएको छ ।
अमेरिकी वातावरण संरक्षण निकायबाट अनुमति पाएपछि आगामी दुई वर्षभित्र यो अभियान सुरु हुने बताइएको छ ।
एजेन्सीकाे सहयाेगमा ।

प्रतिक्रिया