काठमाडाैं । अफगानिस्तानकी ३० वर्षीया रिभर अहमदले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्दै इतिहास रचेकी छन् । उनी सगरमाथा चुम्ने पहिलो अफगान महिला बनेकी हुन् । उनको सफलता केवल एउटा आरोहणको कथा होइन, मृत्यु, संघर्ष, निर्वासन र आशाको यात्राको कथा पनि हो ।
रिभर अहमद, जसलाई पहिले जकिया अहमदका नामले चिनिन्थ्यो, तालिवानको कठोर शासनबीच हुर्किइन् । अफगानिस्तानको गज्नी क्षेत्रमा जन्मिएकी उनले बाल्यकालमै शिक्षाका लागि कठिन संघर्ष गर्नुपर्यो । विद्यालय जान हिउँले ढाकिएको पहाडी बाटोमा दैनिक चार घण्टासम्म हिँड्नुपर्थ्यो ।
सन् २०१४ मा उनी परिवारलाई मनाएर काबुल विश्वविद्यालय पढ्न गइरहेकी थिइन् । बाटोमै तालिवानी बन्दुकधारीले बसमा गोलीबारी गरे । त्यही बेला महिनावारी भइरहेकाले उनले अनुहारभरि रगत दलेर आफू मरेको अभिनय गरिन् । त्यही अभिनयले उनको ज्यान बचायो ।
पछि उनले काबुलमा पत्रकारिता अध्ययन गरिन् र छद्म नामबाट रेडियो पत्रकारका रूपमा काम गर्न थालिन् । तर सन् २०२१ मा तालिवान पुनः सत्तामा फर्किएपछि महिलामाथि शिक्षा र स्वतन्त्रतामा कठोर प्रतिबन्ध लगाइयो । त्यसपछि उनी ज्यान जोगाउन भारत हुँदै अष्ट्रेलिया पुगिन् ।
निर्वासनको जीवन पनि सजिलो थिएन । अष्ट्रेलिया पुगेपछि उनका २० वर्षीय भाइले आत्महत्या गरे । त्यस घटनाले उनी गहिरो मानसिक पीडामा परिन् । यही कठिन समयमा उनले आफ्नो नाम ‘रिभर’ राखिन् । नदीजस्तै निरन्तर बगिरहनु र अगाडि बढिरहनु नै जीवनको अर्थ भएको उनले महसुस गरिन् ।
सिड्नी हार्बर ब्रिजको सामूहिक आरोहण कार्यक्रममा सहभागी भएपछि उनलाई पर्वतारोहणप्रति मोह जाग्यो । त्यसपछि उनले मेलबर्नका पहाडमा प्रशिक्षण सुरु गरिन् । कुनै प्रायोजक नपाएपछि आफ्नै बचत र ऋणबाट उनले सगरमाथा अभियानका लागि करिब ८५ हजार डलर जुटाइन् ।
मे २१, २०२६ मा उनले दुई शेर्पा सहयोगीसहित सगरमाथाको शिखर चुमिन् । माइनस २५ डिग्री तापक्रममा ‘डेथ जोन’ नजिक चार घण्टासम्म ट्राफिक जाममा पर्खनुपर्दा पनि उनले हार मानिनन् । रिभर भन्छिन्, “म स्वतन्त्रता र शिक्षाका लागि यो हिमाल चढेकी हुँ ।”
एजेन्सीकाे सहयाेगमा।

प्रतिक्रिया