सगरमाथामा बेपत्ता भएका ओखलढुंगाका दावा शेर्पा जीवित फेला

भिजन समाचार
170
Shares

काठमाडौं । सगरमाथा क्षेत्रमा विगत एक सातादेखि सम्पर्कविहीन रहेका ओखलढुंगाका दावा शेर्पा जीवित फेला परेका छन् ।

खिजीदेम्बा गाउँपालिका–६ बन्से घर भई हाल काठमाडौंको कपनमा बसोबास गर्दै आएका ५७ वर्षीय दावा शेर्पालाई बिहिबार बिहान सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) को फोहोर व्यवस्थापन टोलीले फेला परेकाे हो ।

समितिका प्रमुख कार्यकारी अधिकृत छिरिङ शेर्पाका अनुसार शेर्पालाई क्र्याम्पोन पोइन्ट नजिक आधार शिविरतर्फ घिस्रिँदै गरेको अवस्थामा फेला पारिएको थियो । टोलीले तत्काल उद्धार गरी उनलाई गोरक्षेपतर्फ लगेको जनाएको छ ।

स्थानीयस्तरमा ‘पान दावा’ तथा ‘हिलारी दावा’ नामले परिचित शेर्पा हिमालयन ट्राभर्स एडभेन्चर प्रालिमार्फत एभरेस्ट एक्सपिडिसनमा क्याम्प–२ मा कुकको कामका लागि गएका थिए । तर गाइड अभावका कारण उनलाई क्याम्प–३ सम्म गाइडको भूमिकामा पठाइएको जनाइएको छ ।

परिवारका अनुसार शेर्पा क्याम्प–३ बाट क्याम्प–२ फर्किने क्रममा सम्पर्कविहीन भएका थिए । हाल उनको स्वास्थ्य अवस्था कमजोर रहेको बताइएको छ । “दावा शीतदंशबाट पीडित छन् र धेरै बिस्तारै बोलिरहेका छन्,” प्रमुख कार्यकारी अधिकृत छिरिङ शेर्पाले बताए ।

हिजो मात्रै 8K एक्सपिडिसनद्वारा सञ्चालित हवाई खोजी टोलीले उनको खोजी गरे पनि पत्ता लगाउन सकेको थिएन । लामो समय ‘डेथ जोन’ क्षेत्रमा खाना र पानीबिनै संघर्ष गर्दै तल झर्न सफल भएको भन्दै समितिले यसलाई “चमत्कारिक बचाइ” को संज्ञा दिएको छ ।