खिजीदेम्बाका नागरिकसँग जनप्रतिनिधिको साक्षात्कारः सबै वडामा सार्वजनिक सुनुवाइ सम्पन्न

भिजन समाचार
60
Shares

ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाले गाउँ–गाउँमै पुगेर नागरिकका आवाज सुन्ने अभियानलाई निरन्तरता दिएको छ । पालिकाले सबै वडामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गर्दै स्थानीयका गुनासा, सुझाव र अपेक्षा प्रत्यक्ष रुपमा संकलन गरेको हो ।

बैशाख २० गते वडा नं. ९ पात्लेबाट सुरु गरिएको सार्वजनिक सुनुवाइ अभियान बैशाख २८ गते वडा नं. ५ खिजीफलाटेमा आयोजित पालिकास्तरीय सार्वजनिक सुनुवाइसँगै सम्पन्न भएको छ ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँपालिका अध्यक्ष गम्बु शेर्पा, उपाध्यक्ष सुशीला तामाङ, प्रमुख प्रशासकीय अधिकृत नविना गिरी सहित विभिन्न शाखाका प्रमुख, प्राविधिक तथा कर्मचारीहरू जवाफदेही वक्ताको रुपमा सहभागी भएका थिए । जनप्रतिनिधि र कर्मचारी टोली वडा–वडामै पुगेर स्थानीयसँग प्रत्यक्ष संवादमा जुटेको थियो ।

कार्यक्रममा चालु आर्थिक वर्षको बजेट कार्यान्वयन, सेवा प्रवाहको अवस्था तथा विकास योजनाको प्रगति विवरण प्रस्तुत गरिएको थियो । स्थानीयवासीले विकास निर्माण, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, स्वरोजगारलगायतका विषयमा खुला रूपमा प्रश्न राखेका थिए ।

स्थानीयले उठाएका कतिपय समस्याको समाधान तत्कालै खोज्ने प्रयास गरिएको गाउँपालिकाले जनाएको छ भने दीर्घकालीन समाधानका लागि प्राप्त सुझाव आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट निर्माणमा समेटिने बताइएको छ ।

वडासँग सम्बन्धित प्रश्न गुनासोको वडा अध्यक्ष राम सुनुवारले सम्बोधन गर्दै समाधान र आवश्यक पहल गर्ने प्रतिवद्दता जनाएका थिए ।

प्रमुख प्रशासकीय अधिकृत नविना गिरीले सार्वजनिक सुनुवाइबाट प्राप्त सुझावले सेवा प्रवाहलाई थप प्रभावकारी र उत्तरदायी बनाउन सहयोग पुग्ने बताइन् ।

यस्तै उपाध्यक्ष सुशीला तामाङले जनताका समस्या गाउँटोलमै पुगेर सुन्ने र समाधान खोज्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको उल्लेख गरिन् ।

गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त पालिका निर्माणका लागि सार्वजनिक सुनुवाइलाई प्रभावकारी माध्यमका रूपमा अघि बढाइएको बताए । उनले जनतासँग प्रत्यक्ष संवाद गर्दै उत्तरदायी शासन प्रणाली स्थापित गर्न पालिका प्रतिबद्ध रहेको धारणा राखेका थिए ।

खिजीदेम्बा गाउँपालिकाले यस वर्ष वडा–वडामा सार्वजनिक सुनुवाइ गर्दै नागरिकसँग प्रत्यक्ष साक्षात्कार गर्ने अभ्यासको थालनी गरेको छ ।

सार्वजनिक सुनुवाइ कार्यक्रमको सहजीकरण भिजन नेपाल ओखलढुंगाले गरेको थियो ।