ओखलढुंगामा प्रजनन स्वास्थ्य तथ्यांक समीक्षा

भिजन समाचार
110
Shares

ओखलढुंगा ।  जिल्लामा परिवार नियोजन तथा मातृ–शिशु स्वास्थ्यसम्बन्धी तथ्यांक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले एफ.डि डाटाप्रो तालीम तथा प्रजनन स्वास्थ्य कार्यक्रमको तथ्यांक समीक्षा गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटारको आयोजनामा जिल्लाका स्वास्थ्य शाखा प्रमुखहरूसँग स्वास्थ्य सेवा विभागका प्रमुख तथ्यांक अधिकृतहरूले अन्तरक्रिया गरेका थिए ।

कार्यक्रममा परिवार नियोजन, मातृ तथा शिशु स्वास्थ्य सेवासँग सम्बन्धित विवरणलाई डिजिटल माध्यमबाट व्यवस्थित गरी सहज रूपमा विश्लेषण गर्न सकिने प्रणालीबारे जानकारी गराइएको जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटारकी प्रमुख मनिषा मोत्ताङले बताइन् । स्वास्थ्य संस्थाबाट संकलन हुने तथ्यांकलाई छिटो, भरपर्दो र विश्लेषणका लागि सहज बनाउने उद्देश्यले एफ.डि डाटा प्रो प्रणाली उपयोगी हुने सहभागीहरूले बताएका छन् ।

तालीमको सहजीकरणका लागि स्वास्थ्य सेवा विभाग, एचएमआइएस सेक्सनका प्रमुख रितु पन्त, तथ्यांक अधिकृत तथा कम्प्युटर अधिकृतको टोली सहभागी भएको थियो । उक्त टोलीले तथ्यांक प्रविष्टि, व्यवस्थापन, रिपोर्टिङ तथा विश्लेषण प्रक्रियाबारे व्यावहारिक प्रशिक्षण समेत प्रदान गरेको जनाइएको छ ।

कार्यक्रममा सहभागी स्वास्थ्यकर्मीहरूले नयाँ प्रणालीले परिवार नियोजन तथा प्रजनन स्वास्थ्य सेवासम्बन्धी तथ्यांक व्यवस्थापनलाई आधुनिक र व्यवस्थित बनाउने विश्वास व्यक्त गरेका छन् ।

स्वास्थ्य क्षेत्रमा डिजिटल प्रणालीको प्रयोग बढ्दै जाँदा सेवा प्रवाहमा पारदर्शिता, तथ्यांकको शुद्धता र निर्णय प्रक्रियामा सहजता आउने अपेक्षा गरिएको जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटारले जनाएको छ ।