ओखलढुंगा । ओखलढुंगामा सञ्चालन गरिएको बृहत् आँखा जाँच शिविरमा एक हजार १७६ जनाले आँखा परीक्षण तथा उपचार सेवा लिएका छन् ।
भदौ १४ गतेदेखि २३ गतेसम्म जिल्लाका विभिन्न स्थानीय तहमा सञ्चालन गरिएको शिविरबाट ५९३ महिला र ५८३ पुरुषले सेवा लिएका हुन् । शिविरका क्रममा ६८ जना मोतिबिन्दुका बिरामी शल्यक्रियाका लागि छनोट भएका छन् ।
सामुदायिक आँखा केन्द्र ओखलढुंगाकी प्रमुख टिका राईका अनुसार छनोट भएका बिरामीमध्ये १५ जनाको एसआईसीएस विधि र ५३ जनाको फेको प्रविधिबाट शल्यक्रिया गर्नुपर्ने अवस्था पहिचान भएको छ । यस्तै, १८० जना चस्मा प्रयोगकर्तालाई आवश्यक सेवा प्रदान गरिएको राईले जानकारी दिइन् ।
आँखासम्बन्धी समस्या समयमै पहिचान गर्ने उद्देश्यले सिद्धिचरण नगरपालिकाका वडा नम्बर १, २, ३, ४, ५ र १०, मानेभञ्ज्याङ गाउँपालिकाका वडा नम्बर २ र ३ तथा मोलुङ गाउँपालिका–५ मा शिविर सञ्चालन गरिएको थियो । शिविरमा समुदायका नागरिकसँगै विद्यालयका विद्यार्थीहरूको समेत आँखा परीक्षण गरिएको थियो ।
गाउँघरमै पुगेर गरिएको परीक्षणले आँखासम्बन्धी समस्या पहिचान गर्न तथा थप उपचार आवश्यक पर्ने बिरामीलाई शल्यक्रियाका लागि छनोट गर्न सहज भएको आयोजकले जनाएको छ ।
शल्यक्रियाका लागि छनोट भएका बिरामीको सामुदायिक आँखा केन्द्र, रेडक्रस भवन ओखलढुंगामा शल्यक्रिया गरिने भएको छ । केन्द्र प्रमुख राईका अनुसार एसआईसीएस विधिबाट गरिने शल्यक्रिया निःशुल्क हुनेछ भने फेको प्रविधिबाट गरिने शल्यक्रियाका लागि शुल्क लाग्नेछ ।
बृहत् आँखा जाँच शिविर तिलगंगा आँखा प्रतिष्ठान, गौशाला काठमाडौं, सामुदायिक आँखा केन्द्र ओखलढुंगा र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा ओखलढुंगाको संयुक्त आयोजनामा सञ्चालन भएको हो ।
आँखामा देखिने समस्या बेवास्ता गर्दा दृष्टि कमजोर हुँदै जाने र मोतिबिन्दुका कारण दृष्टि गुम्न सक्ने भएकाले समयमै आँखा परीक्षण तथा उपचार गराउन स्वास्थ्यकर्मीहरूले सुझाव दिएका छन् । शिविरले विशेषगरी ग्रामीण क्षेत्रका नागरिकलाई आफ्नै गाउँठाउँमा आँखा परीक्षण तथा उपचार सेवा लिन सहज बनाएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया