ओखलढुंगा । अन्तर्राष्ट्रिय स्तरमा र नेपालमा सन् २०१४ देखि मनाउन थालिएको महिनावारी स्वच्छता दिवस ओखलढुंगामा भने पहिलो पटक औपचारिक रूपमा मनाइएको छ । देशमा दिवस मनाउन सुरु भएको १२ वर्षपछि जिल्लामा कार्यक्रम आयोजना गरिनु आफैंमा प्रश्नको विषय बनेको छ ।
महिनावारीका समयमा हुने विभेद, छाउपडीजस्ता कुप्रथा अन्त्य, सरसफाइ प्रवर्द्धन तथा महिला–किशोरीको सशक्तीकरणका लागि महत्वपूर्ण मानिने दिवस ओखलढुंगामा किन यति ढिलो सम्झिइयो ? सम्बन्धित निकायको प्राथमिकतामा महिनावारी स्वास्थ्य अहिलेसम्म किन परेन ? यस्ता प्रश्न स्थानीयस्तरमा उठ्न थालेका छन् ।
जिल्लामा पहिलो पटक मनाइएको दिवसको अवसरमा स्वास्थ्य कार्यालय रुम्जाटारले तीन विद्यालयका विद्यार्थी सहभागी गराई हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको छ । किशोरी तथा विद्यार्थीमा महिनावारी सम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
प्रतियोगितामा सहभागी विद्यार्थीलाई छ वटा समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइएको स्वास्थ्य कार्यालय रुम्जाटारकी खोप फोकल पर्सन उमा गुरुङले जानकारी दिइन् । उनका अनुसार प्रतियोगिता मार्फत महिनावारी स्वच्छता, स्वास्थ्य तथा दैनिक जीवनसँग सम्बन्धित विषयमा प्रश्न सोधिएको थियो ।
प्रतियोगितामा सिद्धिचरण नगरपालिका–५ स्थित राज्यलक्ष्मी माध्यमिक विद्यालयको ‘सानिटार’ समूह प्रथम बनेको छ । त्यसैगरी सनराइज बोर्डिङ स्कुल द्वितीय तथा रुम्जाटार माध्यमिक विद्यालय तृतीय भएका छन् । विजेता समूहलाई स्टेशनरी सामग्री, सेनिटरी प्याड, सेनिटाइजर, साबुनल गायत सामग्री वितरण गरिएको आयोजकले जनाएको छ ।
तर, जिल्लामा महिनावारी स्वास्थ्यको वास्तविक अवस्था कस्तो छ भन्ने विषय अझै गम्भीर बहसको विषय बनेको छ । धेरै विद्यालयमा सुरक्षित र व्यवस्थित शौचालयको अभाव, सेनिटरी प्याडको नियमित उपलब्धता नहुनु, महिनावारीका समयमा विद्यालय अनुपस्थित हुने किशोरीको संख्या तथा ग्रामीण क्षेत्रमा अझै कायम सामाजिक विभेदजस्ता समस्या समाधानमा स्थानीय तह र सरोकारवाला निकायले प्रभावकारी काम गर्न सकेका छैनन् ।
दिवस मनाउनु सकारात्मक सुरुवात भए पनि एकदिने कार्यक्रमले मात्रै समस्या समाधान नहुने सरोकारवालाहरूको भनाइ छ । उनीहरूले विद्यालय तहदेखि समुदायसम्म निरन्तर सचेतना, सुरक्षित संरचना, निःशुल्क वा सहज प्याड उपलब्धता र व्यवहार परिवर्तनमुखी अभियान आवश्यक रहेको बताएका छन् ।
स्वास्थ्य कार्यालय रुम्जाटारका अनुसार किशोरी तथा विद्यार्थीमा महिनावारीप्रति रहेको संकोच हटाउँदै स्वच्छता, स्वास्थ्य र सचेतना बढाउन यस्ता कार्यक्रम आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिनेछ ।

प्रतिक्रिया