ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाले गाउँगाउँमा निःशुल्क आँखा जाँच तथा उपचार सञ्चालन गरेर सेवा दिन थालेको छ । सबै ९ वटै वडाका नागरिकको आँखा जाँच गर्ने, सामान्य समस्या देखिएकालाई वडामा सञ्चालित शिविरबाटै औषधी उपचार गर्ने र मोतिबिन्दुको समस्या देखिएकालाई पालिकामा ल्याएर अप्रेससहितको सेवा दिनेगरी पालिकाले शिविर आयोजना गरेको हो ।

पहिलो दिन आज आईतबार वडा नम्बर ९ पात्लेमा शिविर सञ्चालन गरिएको थियो । पात्लेमा सञ्चालित शिविरमा ९१ जनाले सेवा लिएका छन् । खिजीदेम्बा गाउँपालिकाको आयोजनामा वडा नम्बर–९ छेर्मादिङ वडा कार्यालयमा सञ्चालन भएको शिविरमा ९१ जनाको आँखा परिक्षण गरिएको हो ।
शिविरमा सेवा लिएका ९१ जनामध्ये आठ जनामा मोतिबिन्दु पहिचान भएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख इन्द्र प्रसाद गौतमले जानकारी दिए । शिविरमा सेवाग्राहीलाई मोतिबिन्दु पहिचान, आँखा सम्बन्धी विभिन्न समस्याको जाँच, १५ जनालाई चस्मा वितरण तथा औषधि वितरण र परामर्श सेवा प्रदान गरिएको उनले बताए ।
गाउँमै पुगेर आँखा सज्ञम्बन्धी समस्या भएका नागरिकलाई सर्वसुलभ सेवा प्रवाह गर्ने उद्वेश्यले शिविर सञ्चालन गरिएको र यस प्रकारका शिविर पालिकाको सबै वडामा सञ्चालन हुने गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
अन्धोपनाको प्रमुख कारण मोतिबिन्दु भएकाले ग्रामीण क्षेत्रका नागरिकलाई समयमै परिक्षण गरि अन्धोपनाबाट जोगाउने, नागरिकलाई सहज, सर्वसुलभ सेवा प्रवाह गर्ने लक्ष अनुरुप शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले बताए ।

शिविरबाट मोतिबिन्दुको शल्यक्रियाको लागि छनोट भएका बिरामीलाई बैशाख २९ र ३० गते खिजीफलाटेमा सञ्चालन हुने निःशुल्क शल्यक्रिया शिविरमा शल्यक्रिया गरिने गाउँपालिकाले जनाएको छ ।
वडा स्तरमै राखेको शिविरबाट नागरिक लाभान्वित भएको बताउँदै आगामी दिनमा पनि यस प्रकारका शिविरलाई निरन्तरता दिन वडा अध्यक्ष ङवाङ फुरी शेर्पाले बताएका छन् । गाउँमै आखा जाँच गराएर उपचार सेवा लिन पाउँदा स्थानीय हर्षित भएका छन् ।
यसैबिच गाउँपालिकाको आयोजना र करुणा फाउन्डेशनको सहयोगमा अपांगता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम अन्तर्गत १५ जना पूर्ण अशक्त र अति अशक्त व्यक्तिहरुको स्वास्थ्य परिक्षण गरिएको छ । कार्यक्रमकै अवसरमा तीन जनालाई ट्वाइलेट चिएर र दुई जनालाई एल स्टिक वितरण गरिएको गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

प्रतिक्रिया