बर्थिङ सेन्टरका स्वास्थ्यकर्मीलाई स्तनपान परामर्श तालिम

भिजन समाचार
64
Shares

ओखलढुंगा । जिल्लाका विभिन्न बर्थिङ सेन्टरमा कार्यरत ३० जना नर्सिङ स्वास्थ्यकर्मीलाई स्तनपान सम्बन्धी परामर्श तालिम प्रदान गरिएको छ । स्वास्थ्य कार्यालय रुम्जाटारको आयोजनामा सञ्चालन भएको तीन दिने तालिममा जिल्लाका आठवटै स्थानीय तहबाट नर्सहरूको सहभागिता रहेको थियो ।

तालिममा सहभागी स्वास्थ्यकर्मीलाई स्तनपानसँग सम्बन्धित व्यवहारिक ज्ञान, सीप तथा नवजात शिशुको पोषण व्यवस्थापनबारे प्रशिक्षण दिइएको जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटारका स्वास्थ्य निरीक्षक नवराज बानियाँले जानकारी दिए ।

उनका अनुसार नवजात शिशुको स्वास्थ्य, पोषण र रोग प्रतिरोधात्मक क्षमताका लागि स्तनपान अत्यन्त महत्वपूर्ण भएकाले सुत्केरी आमालाई स्तनपान गराउन उत्प्रेरित गर्ने उद्देश्यले परामर्शदाताको क्षमता विकास गर्न तालिम सञ्चालन गरिएको हो ।

तालिममा सहभागी नर्सहरूले आफूले सिकेका ज्ञान तथा सीपलाई कार्यक्षेत्रमा प्रभावकारी रूपमा प्रयोग गर्दै सेवा प्रवाहलाई अझ गुणस्तरीय बनाउने प्रतिबद्धता जनाएका छन् ।

स्वास्थ्य कार्यालयले यस्ता कार्यक्रममार्फत मातृ तथा शिशु स्वास्थ्यमा सुधार ल्याउन थप टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ ।