ओखलढुंगा । ओखलढुंगाका बिरामीहरूले अब काठमाडौं मेडिकल कलेज (केएमसी) मा निःशुल्क तथा छुटसहित उपचार सेवा पाउने भएका छन् । जिल्लावासीलाई सहज र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले नेपाली कांग्रेस ओखलढुंगा र केएमसीबीचको सहकार्यलाई निरन्तरता दिइएको हो ।
सिद्धिचरण नगरपालिका प्रमुख तथा पार्टी जिल्ला सभापति तेजन खनालको पहलमा भएको सहमति अनुसार भक्तपुरको दुवाकोटस्थित केएमसीको नयाँ भवनबाट सेवा प्रदान गरिनेछ ।
सहमति अनुसार असार मसान्तसम्म ओखलढुंगाका ५० जना विपन्न बिरामीले निःशुल्क उपचार सेवा पाउनेछन् । त्यस्तै, २०८३ चैत मसान्तसम्म थप ५० जनाले ५० प्रतिशत छुटमा उपचार सेवा लिन सक्नेछन् । साथै, विभिन्न स्वास्थ्य परीक्षणमा १० देखि २५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।
उपचार सेवा लिन स्थानीय तहको सिफारिस अनिवार्य हुने जनाइएको छ भने सेवा सरकारद्वारा निर्धारण गरिएका स्वास्थ्य मापदण्ड अनुसार प्रदान गरिनेछ ।
केएमसीका सञ्चालक डा. सुनिल शर्माको उपस्थितिमा सम्पन्न सहमतिपत्रमा अस्पतालका तर्फबाट नारायणप्रसाद दाहाल र सुधा कटेल तथा ओखलढुंगाका तर्फबाट सभापति खनाल र सह–सचिव भोजकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । सहमति वैशाख ११ गतेदेखि आगामी चैत ३० गतेसम्म लागू हुनेछ ।
सभापति खनालले जिल्लावासीलाई सहज स्वास्थ्य पहुँच सुनिश्चित गर्न यस्तो सहकार्यलाई निरन्तरता दिइएको बताए । सह–सचिव श्रेष्ठले नागरिकको समस्यामा पार्टी सधैं साथ रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया