सिद्धिचरणको १७ औं हिउँदे नगरसभा: संशोधनसहितको बजेट पारित

वित्तिय प्रगति ३१.३७ प्रतिशत

भिजन समाचार
34
Shares

ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले १७ औं नगरसभामार्फत संशोधनसहित बजेट, नीति तथा कार्यक्रम पारित गरेको छ । सिद्धिचरण नगरपालिकाको सहभाहलमा बिहिबार सम्पन्न हिउँदे नगरसभामा नगरप्रमुख तेजन खनालले नगरपालिकाको हालसम्मको प्रगति तथा समिक्षा प्रस्तुत गरेका थिए । 

उनका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा कूल विनियोजन बजेट ७२ करोड ८१ लाख ४४ हजार ५ सय -सामाजिक सुरक्षा बाहेक) रहेकोमा हालसम्म २२ करोड ८४ लाख ७९ हजार खर्च भएको छ ।

जसमध्ये चालु खर्च २१ करोड ६८ लाख ८६ हजार -४१ प्रतिशत) र पूँजीगत खर्च एक करोड १५ लाख ९२ हजार ९ सय -५.७४ प्रतिशत) खर्च भई हालसम्म ३१.३७ प्रतिशत वित्तीय प्रगति हासिल भएको मेयर खनालले बताए ।

आय तर्फ संघीय सरकारबाट २८ करोड ८४ लाख १७ हजार, प्रदेश सरकारबाट एक करोड ४२ लाख १० हजार ५ सय रुपैया, राजश्व बाडँफाँड तर्फ संघीय सरकार र प्रदेश सरकारबाट जम्मा पाँच करोड ९४ लाख २६ हजार ६११, वित्तीय हस्तान्तरण भएको छ ।

यस्तै आन्तरिक श्रोत तर्फ हालसम्म एक करोड ४ लाख ९८ हजार ९८२ र गत वर्षको बैंक मौज्दात तीन करोड ८२ लाख ४ हजार ९५३ रुपैया २३ पैसा रहेको छ । हाल सम्म कुल आय ३६ करोड ३६ लाख ७९ हजार ९ सय १५ रुपैया २३ पैसा रहेको छ ।

नगरसभामा मेयर खनालले चालु आर्थिक बर्षमा हालसम्म भएका मुख्य मुख्य प्रगति विवरण प्रस्तुत गरेका थिए ।

जसमा शिक्षा क्षेत्रलाई प्रविधिमैत्री बनाउन आइटी स्रोत शिक्षकलाई तालिम, सामुदायिक विद्यालयका छात्राहरुलाई निःशुल्क प्याड उपलब्ध गराउन विद्यालयलाई अनुदान कार्यक्रम सञ्चालन भएको छ ।

असाहय अपांगता भएका व्यक्तिलाई सहयोग तथा उपचारका कार्यक्रम, कृषि तथा पुशपंछी क्षेत्रमा रोग तथा महामारी नियन्त्रणका लाग खोप, पशुबस्तुको उपचार र कृषिबालीमा रोग किरा व्यवस्थान, कृषकलाई अनुदान बिउ बिजन लगायतमा नगरले सहयोग गरेको उनले उल्लेख गरेका छन् ।

न्यायिक समितिमा चालु आर्थिक बर्षमा दर्ता हुन आएका तीन वटा उजुरीहरु हाल फछ्र्यौटको चरणमा रहेको तथा हालसम्म राजपत्रमा प्रकाहित ऐन ३०, कार्यविधि ७०, निर्देशिका ११ र नियमावली ९ रहेको छ । लैगिंक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना अन्तर्गत सिपिएसडब्ल्युबाट चालु आवमा हालसम्म पाँच हजार ४५४ ले सेवा दिएका छन् ।

उनका अनुसार पुर्वाधार क्षेत्र, स्वास्थ्य, सामाजिक सुरक्षा र व्यक्तिगत घटना दर्तातर्फ पनि सन्तोषजनक प्रगति भएको छ ।

यस्तै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मुल्यांकनमा नगरपालिकाले ६७.०१ अंक प्राप्त गर्दै जिल्लामै प्रथम भएको र आगामी आर्थिक बर्ष सरकारबाट प्राप्त हुने अनुदान रकम वृद्धि गर्न सहयोग पुग्ने भएकाले यो पनि महत्वपूर्ण उपलब्धी रहेको मेयर खनालले बताएका छन् ।

कार्यक्रममा सिद्धिचरण नगरपालिकाका उपमेयर केदारबाबु बस्नेतले चालु आवमा स्वीकृत भएका कार्यक्रमहरुको संशोधन प्रस्ताव र प्रस्तावित कार्यक्रम तथा बजेट प्रस्तुत गरेका थिए । हिउँदे नगरसभाबाट नीति कार्यक्रम तथा बजेट सर्मसम्मतिले पारित भएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत फणिन्द्र कटवालले जानकारी दिएका छन् ।