ओखलढुंगामा एचपीभी खोप अभियान सञ्चालन

भिजन समाचार
38
Shares

ओखलढुंगामा सोमबारदेखि पाठेघरको मुखको क्यान्सर विरुद्ध दिइने एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) खोप अभियान सञ्चालन भएको छ । राष्ट्रिय अभियान अन्तर्गत सञ्चालन गरिएको कार्यक्रम मार्फत जिल्लाका एक हजार दुई जना किशोरीलाई खोप लगाइने भएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार कक्षा ६ मा अध्ययनरत ९८७ जना र विद्यालय बाहिर रहेका १५ जना गरी कुल एक हजार दुई जना किशोरी लक्षित समूहमा परेका छन् । जिल्लाका आठवटै स्थानीय तहका विद्यालय तथा स्वास्थ्य संस्थामा स्थापना गरिएका खोप केन्द्रमार्फत फागुन ४ र ५ गते विद्यालयमै खोप सेवा सञ्चालन हुनेछ भने फागुन ६ गते स्वास्थ्य संस्थाबाट समेत खोप लगाउने व्यवस्था मिलाइएको छ ।

खोप फोकल पर्सन उमा गुरुङका अनुसार विद्यालयमा अध्ययनरत किशोरीलाई विद्यालयमै खोप दिइँदैछ भने विद्यालय बाहिर रहेका किशोरीलाई नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरी खोप लगाइनेछ ।

स्वास्थ्य कार्यालय प्रमुख मनिषा मोक्तानले एचपीभी संक्रमण पाठेघरको मुखको क्यान्सर हुने प्रमुख कारण भएको बताइन् । प्रारम्भिक किशोरावस्थामै एचपीभी खोप लगाउँदा भविष्यमा क्यान्सरको जोखिम उल्लेख्य रूपमा घट्ने उनले स्पष्ट पारिन् ।

खोप सुरक्षित, प्रभावकारी तथा निःशुल्क भएकाले लक्षित समूहका सबै किशोरीलाई अनिवार्य रूपमा सहभागी गराउन अभिभावक, विद्यालय र सरोकारवालासँग उनले आग्रह गरेकी छन् ।