जिल्ला अस्पताल रुम्जाटारमा शल्यक्रिया सेवा औपचारिक रूपमा सुरु भएको छ । अस्पतालमा एमडीजीपी डा. सन्जय पोखरेलको आएपछी पहिलो पटक शल्यक्रिया सेवा दिईएको हो । यो अपरेशन अस्पतालकै पहिलो हो ।
अस्पतालका एमडीजीपी डा. सन्जय पोखरेल, एनेस्थेसिया विशेषज्ञ डा. राजेश महरा, ओटी नर्स धना अधिकारी र धना लामाको टिमले अस्पतालमै पहिलो पटक सफल एपेन्डिक्स शल्यक्रिया सम्पन्न गरेका छन् ।
अस्पताल प्रमुख डा. रवि कुमार यादवका अनुसार शल्यक्रिया गरिएको बिरामीको अवस्था सामान्य छ । उनले आगामी दिनमा पनि सर्जरी सेवालाई नियमित रूपमै निरन्तरता दिइने बताए ।
अस्पतालले माइनर प्रोसिड्युर, सिस्ट, हाइड्रोसिल, हर्निया, एपेन्डिक्टोमी लगायतका शल्यक्रिया सेवा विस्तार गर्दै लैजाने जनाएको छ।
बुधबार चिशंखुगढी गाउँपालिका–४ की १७ वर्षीया अस्मिता बिकलाई एपेन्डिक्सको समस्या आएपछि अस्पताल लगिएको थियो । उनको जिल्ला अस्पताल रुम्जाटारमा सफल शल्यक्रिया गरिएको थियो ।

प्रतिक्रिया