एचआईभी–एड्सबाट बच्न सतर्कता आवश्यक

भिजन समाचार
70
Shares

एचआईभी–एड्स संक्रमणबाट बच्न चेतना र सतर्कता अपरिहार्य रहेको सरोकारवालाले बताएका छन् । ३८औँ विश्व एड्स दिवसका अवसरमा सिद्धिचरण नगरपालिकामा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले सुरक्षित व्यवहार, रोकथाम र सामाजिक सहयोगलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।

‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ’ भन्ने नारासहित दिवसको अवसरमा सिद्धिचरण नगरपालिकाको आयोजनामा जिल्ला प्रहरी कार्यालय ओखलढुंगा, सहयोगी हातहरूको समूह (सहास) नेपाल, ग्रामीण महिला जागरण सञ्जाल लगायत संघ–संस्थाको सहकार्यमा कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत फणिन्द्र बहादुर कटवालले संक्रमितमाथि हुने दुव्र्यवहार अन्त्य गर्दै सचेतनालाई प्राथमिकतामा राख्नुपर्ने बताए । सिद्धिचरण नगरपालिका स्वास्थ्य शाखाकी सिनियर अनमी शारदा राईले संक्रमणका कारण, रोकथामका उपाय, संक्रमितको हेरचाह तथा सामाजिक व्यवहारबारे प्रस्तुतिकरण दिईन् ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सातौँ दिन समेत रहेको अवसरमा गरिएको कार्यक्रममा महिला तथा बालबालिका शाखा प्रमुख सरिता तामाङले समुदायमा अझ व्यापक रूपमा जागरण अभियान आवश्यक रहेको बताइन् ।

जिल्ला अस्पतालको एआरटी शाखाका प्रमुख कुमार प्रसाद दाहालका अनुसार हाल १९ जना एचआईभी संक्रमित नियमित रूपमा निःशुल्क औषधि सेवन गरिरहेका छन् । तीमध्ये १४ जना ओखलढुंगाका, चार जना सोलुखुम्बुका र एक जना खोटाङका रहेका छन् ।

स्वास्थ्यकर्मीका अनुसार असुरक्षित यौनसम्पर्क, संक्रमित रगत तथा रगतजन्य पदार्थको प्रयोग, अङ्ग प्रत्यारोपण, सुई–सिरिङ्जको साझा प्रयोग तथा संक्रमित आमाबाट शिशुमा संक्रमण सर्न सक्ने भएकाले सावधानी अपनाउनु अत्यावश्यक छ ।