ओखलढुंगामा लामखुट्टेको बासस्थान ‘खोजौं तथा नष्ट गरौं’ अभियान

भिजन समाचार
10
Shares

ओखलढुंगाको सदरमुकाममा डेंगु रोगको रोकथामका लागि ‘लामखुट्टेको बासस्थान खोजौँ तथा नष्ट गरौँ’ अभियान सञ्चालन गरिएको छ। स्वास्थ्य कार्यालय ओखलढुंगा रुम्जाटारको आयोजना तथा सिद्दिचरण नगरपालिकाको सहकार्यमा वडा नं ११ र १२ मा शुक्रबारदेखि सो अभियान सुरु गरिएको हो ।

सदरमुकाम क्षेत्र वरपर लामखुट्टेको बासस्थान नष्ट गरि लामखुट्टेको नियन्त्रण गर्ने उद्देश्यले अभियन सञ्चालन गरिएको सिद्धिचरण नगरपालिका नगर प्रमुख तेजन खनालले जानकारी दिए ।

अभियान अन्तर्गत वडा नं ११ र १२ भित्र रहेका होटल पसल, ग्यरेज वरपरको खाल्डाखुल्डी पुर्ने, पानी जम्ने पुराना टायर, फुटेका ड्रम तथा भाँडाकुँडामा रहेको पानी हटाउने, बोतल फाल्ने जस्ता काम गरिएको छ।

एडिज एजिप्टी र एडिस एल्बोपिक्टस प्रजातिका लामखुट्टेहरू विशेषगरी बिहान र साँझ सक्रिय हुने बताउँदै वर्षायाममा पानी जम्ने ठाउँहरूमा फुल पार्ने भएकाले सबैले विशेष सावधानी अपनाउन जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगाका प्रमुख मनिष तामाङ आग्रह गरे।

डेंगुका लक्षणहरूमा उच्च ज्वरो, टाउको दुख्ने, आँखाको गेडी, ढाड र जोर्नीहरू दुख्ने समस्या देखिने भएकाले यस्ता लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा पुग्न सुझाव दिइएको छ ।

स्थानीय तह र समुदायको सहकार्यमा यस्ता अभियानलाई निरन्तरता दिने योजना रहेको स्वास्थ्य कार्यालय ओखलढुंगाले जनाएको छ।