दुधकुण्ड मेलाका भक्तजनलाई नेपाली सेनाले दियो निःशुल्क स्वास्थ्य सेवा

भिजन समाचार
84
Shares

सोलुखुम्बुको  सोलुदुधकुण्ड नगरपालिका–१ दुधकुण्डमा जनै पूर्णिमामा लाग्ने मेलामा सहभागी भक्तजनका लागि नेपाली सेनाले निःशुल्क स्वास्थ्य सेवा सञ्चालन गरेको छ ।

साउन २१ गतेदेखि २६ गतेसम्म लाग्ने मेलामा भक्तजनको स्वास्थ्य जाँच र सहजिकरणका लागि दुर्गा बक्स गण ओखलढुंगाको आयोजनामा स्वास्थ्य सेवा सञ्चालन गरिएको हो ।

नेपाली सेनाका मेडिकल टिमले रिङ्मु, कामुडाँडा र सहर्स बेनीबाट निशुल्क  स्वास्थ्य जाँच गरेको दुर्गा बक्स गण ओखलढुंगाका प्रमुख सेनानी विजय प्रकाश आङ्देम्बेले जानकारी दिए ।

हिमाली क्षेत्रको यात्राका क्रममा अक्सिजन कमी भएर सामान्य समस्या टाउको दुखाई, थकान, श्वास फेर्न गाह्रो हुनेजस्ता लक्षणको उपचार तथा स्वास्थ्य परामर्श दिन स्वास्थ्य सेवा सञ्चालन गरिएको प्रमुख सेनानी आङ्देम्बेले बताए ।

भक्तजनको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै उक्त क्षेत्रमा मेडिकल टिम परिचालन गरिएको छ । निःशुल्क शिविरमा दर्जनौ दर्शनार्थीले सेवा लिएको गणले जनाएको छ ।