नियमित औषधी खाने तीन एचआइभी संक्रमित सम्पर्कविहीन

भिजन समाचार
148
Shares
सांकेतिक तस्वीर ।

जिल्ला अस्पताल रुम्जाटार मार्फत नियमित औषधि सेवन गर्दै आएका एचआइभी संक्रमित तीन जना बिरामी सम्पर्कविहीन बनेका छन् । जिल्ला अस्पताल रुम्जाटार अन्तर्गतको एण्टी रेट्रो भाइरल थेरापी (एआरटी) शाखाबाट औषधि लिँदै आएका १९ जना संक्रमितमध्ये तीन जना हालसम्म सम्पर्कमा नरहेको अस्पतालले जनाएको छ ।

जिल्ला अस्पतालको एआरटी शाखा प्रमुख कुमार प्रसाद दाहालका अनुसार, हाल ओखलढुंगा जिल्लाका १६ जना संक्रमित बिरामी मात्र नियमित रूपमा औषधि सेवन गरिरहेका छन् । यस्तै, सोलुखुम्बुका तीन र खोटाङका एक जना संक्रमितले पनि ओखलढुंगाबाटै सेवा लिँदै आएका छन् ।

सम्पर्कविहीन तीन जनाबाहेक अन्य चार जना संक्रमित भने हाल काठमाडौंको टेकु अस्पताल, वीर अस्पताल र टिचिङ अस्पतालबाट औषधि सेवा लिइरहेको प्रमुख दाहालले जानकारी दिए ।

संक्रमितहरू समयमै औषधि सेवन नगरे स्वास्थ्य अवस्था गम्भीर बन्ने खतरा हुने भएकाले अस्पतालले सम्पर्कविहीन बिरामीहरूलाई खोजी गरी औषधि सेवनमा फर्काउन प्रयास गरिरहेको जनाएको छ ।

अस्पतालले सबै संक्रमितहरूलाई औषधि सेवनमा निरन्तरता दिन र नियमित उपचारमा जोडिन अपिल गरेको छ । चिकित्सकहरूका अनुसार समयमा औषधि सेवन नगरेमा भाइरस पुनः सक्रिय भई रोग गम्भीर बन्ने, शरीरको प्रतिरक्षा प्रणाली कमजोर हुने र अन्य जटिल स्वास्थ्य समस्या देखापर्न सक्ने जोखिम अत्यधिक हुन्छ ।