ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकामा कालाजारकाे (PKDL) परीक्षण सुरु गरिएको छ । गाउँपालिकाको तल्लाे क्षेत्र वडा नं.२,३,५,६,७ र ८ काे नदि खोला आसपासका गाउँ वस्तिमा कालाजार परीक्षण सुरु गरिएको हो । यस अघि प्रमाणित भएका विरामीमा तथा घर परिवारमा छाला सम्बन्धीकाे (PKDL) खाेज पड्पाल कार्यका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्राविधिक टोलीले ती वडाहरूमा घर–घरमै पुगेर परीक्षण सुरु गरेको मानेभञ्ज्याङ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख विश्वराज दाहालले जानकारी दिए ।
उनका अनुसार परीक्षणका लागि अघिल्ला दुई वर्षयता कालाजार पुष्टि भएका व्यक्तिहरूको घरपरिवार र नजिकका समुदायमा परीक्षण अभियान सञ्चालन गरिएको हो । परीक्षणको पहिलो दिन बुधबार मात्रै ९ जनाको परीक्षण गरिएकोमा हालसम्म कसैमा पनि कालाजार पुष्टि नभएको दाहालले बताए ।
यसअघि संक्रमित भेटिएका वडामा पुनः संक्रमण नहोस् भन्ने उद्देश्यले परीक्षण अभियान चलाइएको दाहालले बताए । पहिले संक्रमण देखिएका पाँच जनाको उपचारपछि हालसम्म नयाँ संक्रमण नदेखिएको उनको भनाई छ ।
गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार परीक्षण अभियानलाई क्रमशः अन्य जोखिमयुक्त वडाहरूमा पनि विस्तार गर्ने योजना रहेको छ । कालाजार एक प्रकारको प्रोटोजोआ परजीवीबाट सर्ने सरुवा रोग हो, जसको संक्रमण बालबालिका तथा कमजोर प्रतिरोधात्मक क्षमता भएका व्यक्तिमा बढी देखिन्छ ।
स्थानीयस्तरमै रोगको पहिचान र रोकथाम गर्ने उद्देश्यले पालिकाको सम्भावित र जोखिम युक्त क्षेत्रका गाउँ बस्तिमा कालाजार परिक्षण गरिएको गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले बताए ।

प्रतिक्रिया