ओखलढुंगामा आयुर्वेद उपचारप्रति नागरिकको आकर्षण बढ्दै

एक वर्षमा ३८ हजार बढीले लिए सेवा

स्वास्थ्य परिक्षण गरिदै ।

ओखलढुंगाका नागरिक आयुर्वेदिक उपचारतर्फ आकर्षित हुँदै गएका छन् । चार आर्थिक वर्षको तथ्याङ्क विश्लेषण गर्दा आयुर्वेद प्रति नागरिकको आकर्षण बढ्दै गएको देखिन्छ । आर्थिक वर्ष २०८१/०८२ मा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ओखलढुंगाबाट ३८ हजार ६१० जनाले सेवा लिएका छन् ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ओखलढुंगाका सूचना अधिकारी आशिष कुमार झाले दिएको जानकारी अनुसार पछिल्ला वर्षहरूमा आयुर्वेद उपचार सेवाग्राहीको संख्या निरन्तर बढ्दो क्रममा छ ।

केन्द्रको तथ्यांक अनुसार २०७८/०७९ मा १९ हजार ७२३, २०७९/०८० मा २६ हजार ७९७ र २०८०/०८१ मा २७ हजार ९०५ जनाले सेवा लिएका थिए । पछिल्लो वर्षमा सेवा लिनेको संख्या झनै वृद्धि भई ३८ हजार नाघेको हो ।

सर्वाधिक मागमा परेको सेवा ओपीडी (OPD) हो । आर्थिक वर्ष २०८१/०८२ मा ४ हजार ५२५ जनाले ओपीडी सेवा लिएका छन् । त्यसपछि एक हजार ७८२ जनाले गाउँघर क्लिनिक, एक हजार २०१ जनाले योग सेवा, सात सय ११ जनाले नागरिक आरोग्य सेवा, पाँच सय १ जनाले जेष्ठ नागरिक सेवा र दुई सय ५२ जनाले पञ्चकर्म उपचार लिएको केन्द्रका सूचना अधिकारी झाले जानकारी दिए ।

उमेर अनुसारको विवरणमा १७ देखि ५९ वर्ष समूहका २ हजार ९१२ जनाले सेवा लिएका छन् । ६० वर्षभन्दा माथिका १ हजार ७२३ जनाले सेवा लिएका छन् भने ५ देखि १६ वर्ष उमेर समूहका १४४ जना र १ देखि ४ वर्षसम्मका ४१ जनाले मात्र सेवा लिएको तथ्यांकमा उल्लेख छ ।

आयुर्वेद सेवा विस्तारका लागि जिल्लाका विभिन्न पालिकामा औषधालय स्थापना गरिएको र गाउँघरमै सेवा पु¥याइँदै आएकाले सेवाग्राहीको संख्यामा वृद्धि भएको सूचना अधिकारी झाको भनाई छ । 

प्राकृतिक जडीबुटी, जीवनशैलीमा आधारित उपचार, योग, खानपानको सन्तुलन, र तुलनात्मक रूपमा सस्तो लागतका कारण ग्रामीण क्षेत्रका नागरिक आयुर्वेदिक उपचारप्रति आकर्षित भएको बताईएको छ ।