ओखलढुंगामा कुपोषितमध्ये ६५ प्रतिशत बालिकाः लैंगिक भेदभावको संकेत

भिजन समाचार
488
Shares
तस्वीर : जयन्ता धमला

जिल्ला अस्पताल रुम्जाटारमा सञ्चालित पोषण पुनःस्थापना केन्द्रमा उपचार गराइएका कुपोषित बालबालिकामध्ये ६५ प्रतिशत बालिका छन् । आर्थिक वर्ष २०८१/८२ मा केन्द्रबाट सेवा लिएका ४८ जना कुपोषितमध्ये ३१ जना बालिकाहरू हुन् ।

यो तथ्यले महिला (बालिका)को स्वास्थ्यमा थप चासो र चिन्ताको खाँचो औंल्याएको छ । यो विवरणले प्रारम्भिक बाल्यकालमै लैंगिक असमानता र पोषणको पहुँचमा भेदभावको सम्भावना रहेको संकेत गर्दछ ।

अस्पतालको पोषण केन्द्रले कुपोषणबाट ग्रसित बालबालिकालाई निःशुल्क बसोबास, सन्तुलित आहार र नियमित स्वास्थ्य परीक्षणसहितको उपचार सेवा दिँदै आएको छ । सेवा लिने बालबालिकामा ओखलढुंगासँगै सोलुखुम्बु, खोटाङ र सिन्धुलीका बालबालिकाको समेत उल्लेख्य उपस्थिति छ ।

उपचार गरिएका बालबालिकामध्ये सबैभन्दा धेरै चिशंखुगढी गाउँपालिकाका आठ जना रहेका छन् भने सिद्धिचरण नगरपालिकाका सात, मोलुङ र खिजीदेम्बाका छ–छ, सुनकोशी गाउँपालिकाका पाँच, मानेभञ्ज्याङका एक, सोलुखुम्बुका ११ र सिन्धुलीका दुई बालबालिका छन् ।

पोषण केन्द्रका निमित्त व्यवस्थापक जयन्ता धमलाका अनुसार ६ देखि २३ महिनासम्मका २४ जना र २४ देखि ५९ महिनासम्मका २२ जना बालबालिकाले सेवा लिएका छन् । प्रारम्भिक उमेर समूहमै कुपोषणको दर उच्च हुनु स्वयं बालबालिकाको स्वास्थ्यको दृष्टिले चुनौतीपूर्ण रहेको उनको भनाई छ ।

सेवा लिने बालबालिकाका अभिभावकहरूलाई पोषण सम्बन्धी सीप, सन्तुलित आहारको महत्व र बालसहज हेरचाह बारे अभिमुखीकरण पनि दिइएको छ, जसले दीर्घकालमा कुपोषण न्यूनीकरणमा टेवा पुग्ने अपेक्षा गरिएको केन्द्रका निमित्त व्यवस्थापक धमलाले बताईन् ।

बालिकाहरूमा कुपोषणको अनुपात उच्च देखिनु केवल स्वास्थ्य समस्या मात्र नभई सामाजिक संरचना र पोषण वितरण प्रणालीमा गहिरो असमानता रहेको जानकारहरुको विश्लेषण छ । कुपोषणले बालबालिकाको बौद्धिक र शारीरिक विकास रोक्ने, रोग प्रतिरोधात्मक क्षमता कमजोर बनाउने र भविष्यमा दीर्घकालीन स्वास्थ्य समस्या निम्त्याउने खतरा रहने भएकाले यो समस्यालाई गम्भीर रुपमा लिन स्वास्थ्यकर्मीहरूको सुझाव छ ।

कुपोषणको समस्यालाई अब उपचार केन्द्रमा सीमित नराखी, घर–घरमा लैंगिक समानता र पोषणको समान पहुँच सुनिश्चित गर्ने नीति र व्यवहारमै परिवर्तन आवश्यक छ ।