जिल्ला सामुदायिक आँखा केन्द्र ओखलढुंगाले पाँच महिनामा ३४ प्रतिशत वित्तिय प्रगति हासिल गरेको छ । केन्द्रको आयोजना बुधबार भएको सामाजिक लेखा परिक्षणमा बार्षिक लक्ष्यकाे ३४ प्रतिशत वित्तिय प्रगति हासिल भएको विवरण सार्वजनिक भएको हो ।
केन्द्रले आँखाका विरामीलाई विभिन्न अवस्थामा निःशुल्क सेवा दिने गरे पनि शुल्क लाग्ने अवस्थाबाट ४६ लाख २५ हजार ५०० संकलन गर्ने बार्षिक लक्ष्य राखेको छ । जसमा सन् २०२५ को जनवरी देखि हालसम्म १५ लाख ८२ हजार २८ रुपैया संकलन भएको छ । जुन लक्ष्यको ३४ प्रतिशत भएको केन्द्रकी इन्चार्ज टिका राईले जानकारी दिइन् ।
उनका अनुसार केन्द्रले बिरामी दर्ता, सामान्य शल्यक्रिया, मोतिबिन्दु शल्यक्रिया, चस्मा, औषधि जाँच तथा अन्य सेवा प्रदान गर्दा उक्त रकम संकलन भएको हो ।
केन्द्रले पाँच महिनाको अवधिमा एक हजार ४०४ जनालाई आँखा स्वास्थ्य सम्बन्धि विभिन्न सेवा प्रदान गरेको छ । केन्द्रबाट दृष्टि जाँच, आँखा पावर जाँच, सुक्ष्म दर्शक यन्त्रद्वारा आँखा जाँच, आशु, आशु नली, आँखा चाप, विशेष जाँच, सामान्य शल्यक्रिया, प्रेषण सेवा, चश्मा र औषधि वितरण, कम्प्युटरबाट आँखा जाँच र कलर भिजन टेस्ट लगायतको सेवा प्रदान भइरहेको छ ।
यस्तै बाह्य सेवा अन्तर्गत सामुदायिक आँखा शिविर, विद्यालय आशा शिविर, प्राथमिक आँखा उपचार तालिम, शल्यक्रिया शिविर र ग्रामीण आँखा केन्द्र स्थापना लगायतका सेवा दिने गरेको छ । केन्द्र प्रमुख राईका अनुसार जिल्लाको मोलुङ गाउँपालिकाबाहेक सबै पालिकामा ग्रामीण आँखा केन्द्र स्थापना भइसकेका छ ।
वि.सं. २०६३ सालमा स्थापना भएको केन्द्रबाट स्थापनाकालदेखि हालसम्म ८४ हजार ९६० जनाले सेवा लिएका छन् ।
लेखा परिक्षणमा सिद्धिचरण नगरपालिकाका प्रमुख तेजेन्द्र खनालले केन्द्रको सेवा र प्रगति विवरण सन्तोषजनक रहेको बताएका छन् । नगरपालिकाले आगामी दिनमा पनि केन्द्रसँग सहकार्य गरेर नागरिकलाई सर्वसुलभ आँखा स्वास्थ्य प्रदान गर्ने उनको भनाई थियो ।
यस्तै बुधबार नै बसेको स्थानीय परियोजना सल्लाहकार समितिको बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरु गरेको छ ।
जसमा केन्द्रको सेवालाई प्रभावकारी बनाउँदै सरोकारवालाले सहकार्यलाई निरन्तरता दिने, नगरपालिका, केन्द्र र सरोकारवालाको साझेदारीमा आँखा स्वास्थ्य सम्बन्धि विद्यालय केन्द्रित कार्यक्रम, तालिम, शल्यक्रिया शिविर गर्ने निर्णय भएको छ ।
जिल्लामा आँखा स्वास्थ्यबारे जनचेतनामूलक कार्यक्रम गर्ने र केन्द्रको भवन निर्माणको लागि जग्गा खरिद व्यवस्थापन र निर्माणको लागि काम थाल्ने लगायतका निर्णय भएको केन्द्रले जनाएको छ ।
कार्याक्रममा सहभागीहरुले आँखा स्वस्थ्य सेवा विस्तार, स्थानिय जनसमुदायको सहभागिता र आगामी योजनाको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् ।
नेपालको स्वास्थ्य नीति २०७४ र आँखा स्वास्थ्य रणनीति अन्तर्गत रहि नेपाल आँखा कार्याक्रम तिलगंङ्गा आँखा प्रतिस्ठान, द फ्रेड हलोज फाउन्डेशन र स्थनिय तहको सहकार्यमा प्राथमिकताका साथ सो कार्यनिती कार्यन्बयन गििरएको छ ।
यसका लागि पालिका तहमा आधारभूत आँखा उपचार सेवालाई एकिकृत रुपमा सन्चालन गर्ने, स्व्यस्थ्यकर्मी, स्वयम् सेवीकालाई आवश्यक तालिम, समुदायमा तथा विद्यालयमा आँखा जाँच तथा निःशुल्क शल्यक्रिया, जनचेतनामुलक कार्यक्रममा जोड दिनुपर्नेमा तिलगंङ्गा आँखा प्रतिस्ठानका परियोजना व्यवस्थापक रवि गौतमले जोड दिएका छन् ।
केन्द्रको आयोजना, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा ओखलढुंगा तथा सिद्धिचरण नगरपालिकाको सहकार्य र फ्रेड हलोज फाउन्डेशनको सहयोगमा कार्यक्रम भएको हो ।
बैठक तथा कार्यक्रममा सिद्धिचरण नगरपालिका मेयर तेजन खनाल, उप–प्रमुख केदारबाबु बस्नेत, जिल्ला प्रहरी प्रमुख मदन केसी, केन्द्र प्रमुख राई लगायत सरोकारवालाको सहभागिता थियो ।

प्रतिक्रिया