ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाले आन्दोलनरत शिक्षकलाई विद्यालय फर्किएपछि बिदाका दिनमा समेत पढाउन लगाउने भएको छ । संघीय शिक्षा ऐनलगायतका माग राखेर शिक्षकहरु आन्दोलनमा लाग्दा नगरको शैक्षिक क्यालेण्डर प्रभावित भएको र समयमा विद्यालय नखुल्दा भर्ना अभियान र शिक्षणसिकाई क्रियाकलाप प्रभावित भएका भएको भन्दै नगरपालिकाले विद्यालय खुलेपछि हिउँदे/वर्षे र स्थानीय सबै बिदाका दिनमा विद्यालयमा पठनपाठन गराउने भएको हो ।
नगरप्रमुख तेजन खनालले सार्वजनिक अपिल जारी गर्दै शिक्षकको आन्दोलनका कारण विद्यालयका नतिजा प्रकाशन, विद्यार्थी भर्ना, पाठ्यपुस्तक वितरण, नियमित पठनपाठन पूर्ण रुपमा रोकिँदा विद्यार्थीको पढ्न पाउने अधिकार हनन् भएको बताएका छन् । ‘शिक्षकहरुले पेशागत हकहित र अधिकारका लागि न्यायोचित माग राखेर दवाव सिर्जना गर्नु स्वभाविक भएपनि बालबालिकाको शिक्षा प्राप्त गर्ने नैसर्गिक हक, अधिकार कुण्ठित हुन दिनुहुँदैन’ नगरप्रमुख खनालले भने, ‘आन्दोलनका कारणले भएको शैक्षिक क्षतिको आपुरण गर्न अब विद्यालयहरुले हिउँदे/वर्षे बिदा वा अन्य बिदाबाट कट्टा हुनेगरी उक्त बिदाका दिनमा समेत शिक्षकहरुले अध्ययापनको व्यवस्था मिलाउनुपर्नेछ ।’ शिक्षा क्षेत्रको विकासका लागि बढी संवेदनशिल हुनुपर्ने समयमा झन अस्तव्यस्त बनाइनुले सामुदायिक शिक्षाको विकासमा बाधा पुगेको नगरप्रमुख खनालको तर्क छ ।
नगरप्रमुख खनालले शिक्षकका जायज माग पुरा गरेर विद्यालय खोल्ने वातावरण मिलाइदिन सरकारसँग माग समेत गरेका छन् ।
यस्ताे छ सिद्धिचरणका मेयरकाे शिक्षकलाई अपिल :

जिल्लाको मोलुङ गाउँपालिकाले पनि आन्दोलनरत शिक्षकलाई विद्यालय फर्किएर पठनपाठन सुरु गर्न अपिल गरेको छ । शैक्षिक क्रियाकलाप ठप्प पारेर आन्दोलन गर्नु शिक्षकको नैतिक जिम्मेवारी भित्र नपर्ने भन्दै विद्यालयमा पठनपाठन सुरु गराउने वातावरण मिलाउन अपिल गरिएको गाउँपालिका अध्यक्ष उत्तम राईले बताए । अहिलेको यो शिक्षक आन्दोलनको असर सामुदायिक विद्यालयमा लामो समयसम्म पर्ने संकेत देखिकाले शिक्षक–सरकार वार्ता र सहमति आवश्यक रहेको अध्यक्ष राईको भनाई छ ।
अन्य स्थानीय तहले विद्यालय खोल्न पहल गरिरहेपनि चम्पादेवी गाउँपालिका र खिजीदेम्बा गाउँपालिकाका शिक्षा शाखा प्रमुखहरु समेत शिक्षक आन्दोलनमा सहभागी छन् । चम्पादेवी र खिजीदेम्बाको शिक्षा शाखा शिक्षकले नै प्रमुख भएर चलाउँदै आएका छन् ।
अहिले ओखलढुङ्गाका ३ सय भन्दा बढी विद्यालयका शैक्षिक क्रियाकलाप ठप्प छन् । शिक्षकहरु सबै राजधानीमा आन्दोलन गरिरहेका छन् ।
प्रतिक्रिया