ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले निःशुल्क मुटुरोग परीक्षण शिविर सञ्चालन गर्ने भएको छ । समयमै मुटुरोगको पहिचान गरि स्वस्थ जीवन बाँच्नका लागि प्रेरित गर्ने उद्वेश्यले विशेषज्ञ चिकित्सकसहितको मुटुरोग परिक्षण शिविर सञ्चालन गरिने भएको हो ।
शिविरलाई व्यवस्थित रुपले सञ्चालन गर्ने बिषयमा मंगलबार नगरपालिकामा सरोकारवालासँग छलफल गरिएको थियो । छलफलका क्रममा नगरप्रमुख तेजेन्द्र खनालले महंगो शुल्क तिरेर काठमाण्डौका अस्पतालमा जाँच गराउँदा खर्चिलो र झण्झटिलो हुने भएकाले नगरका नागरिकलाई निःशुल्क रुपमा सर्वसुलभ सेवा प्रदान गर्ने उद्वेश्यले जिल्लामै शिविर राखिएको बताए । शिविर मार्फत सेवा लिएर लाभान्वित हुन उनले नगरबासी र इच्छुक जिल्लाबासीमा आग्रह गरेका छन् ।
सरोकारवालाले स्वास्थ्यको क्षेत्रमा नागरिकहरुका लागि यो शिविर महत्वपूर्ण अवसर भएकाले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने बताएका छन् ।
त्रिभुवन विश्वविद्यालय मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्ज, काठमाडौका वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. रत्नमणि गजुरेलको नेतृत्वमा रहने टोलीद्वारा निःशुल्क मुटु परीक्षण तथा आवश्यक औषधि वितरण र परामर्श प्रदान गरिने नगरपालिकाका जनस्वास्थ्य निरीक्षक आइत बहादुर राईले जानकारी दिए ।
शिविर बैशाख १८ गते ओखलढुंगा सामुदायिक अस्पतालमा बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ ।
सिद्धिचरण नगरपालिकाको आयोजना, त्रि.वि.मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्ज, काठमाडौंको प्राविधिक सहयोग र जयन्ती स्मृति प्रतिष्ठान काठमाडौंको समन्वयमा शिविर सञ्चालन हुनेछ ।
परीक्षणबाट जटिल अवस्था पहिचान भएका बिरामीलाई सहुलियतमा उपचारको व्यवस्थाका लागि पहल गरिने नगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया