राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत ओखलढुंगामा छ हजार २३६ किशोरीलाई एचपिभी खोप लगाइने भएको छ । यस अघि खोप लगाउने किशोरीको संख्या सात हजार बढी हुने अनुमान गरिए पनि सबै पालिकाबाट आएको तथ्यांक अनुसार छ हजार २३६ किशोरीलाई खोप लगाइने भएको हो ।
किक्षा ६ देखि १० सम्म अध्यनरत छ हजार १४४ र विद्यालय बाहिर रहेका १० वर्ष देखि १४ वर्ष उमेर समूहका ९२ जना किशोरी गरि कुल छ हजार २३६ किशोरीलाई पाठेघरको मुखको क्यान्सर गराउने एचपिभी ह्युमन प्यापीलोमा भाईरस विरूद्धको खोप लगाईने जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगाका सूचना अधिकारी विवेक पोखरेलले जानकारी दिए ।
उनका अनुसार खोप लगाउनेमा सबैभन धेरै सिद्धिचरण नगरपालिकामा एक हजार ३६७ जना र सबैभन्दा कम चिशंखुगढी गाउँपालिकामा ४८३ जना किशोरी रहेका छन् । यस्तै सुनकोशीमा ९११, मानेभन्ज्याङमा ८४१, चम्पादेवीमा ८१७ र मोलुङमा ७२६ जना रहेका छन् । जिल्लाको लिखुमा ५५३ र खिजीदेम्बामा ५३८ जना रहेका छन् ।
उक्त भाइरसविरूद्धको खोप कार्यक्रम सञ्चालनका जिल्लाको सबै पालिकाका स्वास्थ्य शाखाका कर्मचारी तथा स्वास्थ्यकर्मीसँग अन्तरक्रिया गर्ने कार्यक्रम सम्पन्न भएर तयारी अन्तिम चरणमा पुगेको कार्यालयले जनाएको छ ।
देशव्यापी खोप कार्यक्रम अन्तर्गत आउँदो माघ २२ गते देखि फागुन ६ सम्म एकैपटक सञ्चालन हुनेछ । नेपाल सरकारले विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओबाट प्रमाणित उक्त खोप १० वर्ष देखि १४ वर्ष उमेर समूहका किशोरीलाई एचपिभीको सङ्क्रमणबाट सुरक्षित हुन अभियान सञ्चालन गर्न लागेको हो ।
विद्यालयमै खोप केन्द्र सञ्चालन गरिनेछ भने अभियानको अन्तिम दिन स्वास्थ्य संस्थाबाट खोप उपलब्ध गराइने जनाइएको छ ।
एक तथ्याङ्कअनुसार नेपालमा हरेक वर्ष दुई हजार दुई सय महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको छ । यसमध्ये एक हजार तीन सयको महिलाको निधन हुने गरेको तथ्यांक छ ।
प्रतिक्रिया