मोलुङ–५ मा मतदान सुरु, पालिकामा सार्वजनिक बिदा

मोलुङ–५ मा मतदान सुरु, पालिकामा सार्वजनिक बिदा


भिजन समाचार
1.2k
Shares

ओखलढुङ्गाको मोलुङ गाउँपालिका वडा नम्बर ५ मा वडा अध्यक्षका लागि आज निर्वाचन हुँदैछ । रिक्त वडा अध्यक्ष पदका लागि बिहान ७ बजेबाट मतदान सुरु भएको छ ।
बिहान पहिलो चरणमा उम्मेदवार र पार्टीका नेताहरुले मतदान गरेका छन् ।
मतदानका लागि जेष्ठ नागरिक, अशक्त र गर्भवती महिला लगायतको लागि छुट्टै मतदान गर्न मिल्नेगरि व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमले भिजनलाई जानकारी दिए ।
हालसम्म शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको छ । शान्ति सुरक्षा लगायतका सबै कुरा चुस्तदुरुस्त बनाइएकोले मतदाताले ढुक्क भएर आफ्नो मताअधिकार प्रयोग गरिरहेका छन् । माेलुङ-५ मा एक हजार ३२५ मतदाता छन् ।
पालिकामा बिदा
वडाको निर्वाचनलाई लक्षित गरेर गाउँपालिकाले आज पालिकाभरी सार्वजनिक बिदा दिएको छ । वडाको निर्वाचनमा केन्द्रीत हुँदा सेवा प्रभावित हुने भन्दै पालिकाले सार्वजनिक बिदा दिएको हो ।
गाउँपालिकाले आइतबार आज गाउँपालिका अन्तर्गतका सम्पुर्ण कार्यालय, सामुदायिक एवं निजी विद्यालय, (आकश्मिक र बर्थिक सेन्टर बाहेक) स्वास्थ्य संस्था लगायतका कार्यालय र संघ संस्थालाई सार्वजनिक बिदा दिइएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सन्तोष गौतमले जानकारी दिए ।
मोलुङ ५ मा वडाअध्यक्ष १ पदका लागि कांग्रेस, एमाले, माओवादी, रास्वपा, राप्रपा र जसपा गरी ६ दलका ६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।