मौन अवधिमा निर्वाचन आचारसंहिता उल्लंघन हुने खतरा

मौन अवधिमा निर्वाचन आचारसंहिता उल्लंघन हुने खतरा



ओखलढुंगाको मोलुङ गाउँपालिका–५ मा आइतबार उपनिर्वाचन हुदैछ । वडाअध्यक्ष पदको लागि उपनिर्वाचन हुन लागेको हो । जिल्लाको आठ स्थानिय तहकाे ७५ वडा मध्ये एउटा वडामा मात्र चुनाव हुने भएकाले विभिन्न दलका नेता कार्यकर्ताहरु मोलुङ गाउँपालिका वडा नं. ५ मा केन्द्रीत भएका छन् ।

बिहिबार राति १२ बजे देखि निर्वाचनको मौन अवधी सुरु हुदैछ । निर्वाचन आचारसंहिता र मौन अवधिको उल्लंघन नहोस साथै अवाञ्छित र अप्रिय घटना नहोस् भन्ने उद्देश्यले सुरक्षा व्यवस्था र निगरानीमा कढाई गरिएको मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमले बताए ।

यस अवधिमा चुनावी प्रचार प्रसार पूर्ण रुपमा बन्द रहने भए पनि मौन अवधिको उल्लंघन हुने कुनै गतिविधि नहोस भन्नका लागि बाक्लो संख्यामा सुरक्षाकर्मी र गोप्य संयन्त्रहरु परिचालन गरिएको निर्वाचन अधिकृत गौतमले भिजन सँग बताए ।

मतदान भन्दा ४८ घण्टा अगाडी देखि मौन अवधि लागु हुने व्यवस्था छ । यो अवधिमा कुनै पनि प्रकारका प्रचार प्रसार र आर्थिक लेनदेन लगायतका घटना भएको पाइएमा कानुन अनुसार कडा कारबाही गरिने गौतमको भनाई छ ।

मौन अवधिमा राजनीतिक दल तथा उम्मेदवारहरुले सामाजिक सञ्जाल मार्फत समेत प्रचार गर्न पाउने छैनन् । आइतबार एक वडाअध्यक्ष पदका लागि विभिन्न दलका छ जना उम्मेदवार विच चुनावी प्रतिस्पर्धा हुनेछ ।

नेपाली कांग्रेसबाट घनश्याम दाहाल, नेकपा एमालेबाट गंगाबहादुर तामाङ, नेकपा माओवादी केन्द्रबाट मानबहादुर सुनुवार, राष्ट्रिय स्वतन्त्र पार्टीबाट बिष्णुप्रसाद पोखरेल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चन्द्रमणी दाहाल र जनता समाजवादी पार्टीबाट इन्द्रबहादुर दर्जी उम्मेदवार छन् ।

मोलुङ गाउँपालिका–५ का वडाध्यक्ष गोपीकृष्ण कार्कीको निधन भए पछि उपनिर्वाचन हुन लागेको हो ।