नेपाली कांग्रेस ओखलढुङ्गाको सयदिने अभियान सङ्गठन सुदृढीकरणमा केन्द्रीत गरेर सञ्चालन गरिएको छ । अभियान अन्तर्गत नेपाली कांग्रेस जिल्ला कार्य समितिले सङ्गठन सुदृढीकरण कार्यक्रमलाई प्राथमिकता दिएको हो ।
नेपाली कांग्रेसका केन्द्रीय प्रतिनिधी सूचना तथा सञ्चार विभाग प्रमुख मिन बहादुर विश्वकर्माको प्रमुख आतिथ्यतामा अभियान सुरु भएको नेपाली कांग्रेस जिल्ला कार्य समिति सचिव राजकुमार ढुंगानाले बताए । जिल्लाको आठ स्थानिय तह मध्ये चार वटामा पालिका स्तरिय कार्यक्रम सम्पन्न भएको भएको सचिव ढुंगानाले जानकारी दिए ।
सिद्धिचरण नगरपालिका, चिशंखुगढी, मानेभञ्ज्याङ र मोलुङ गाउँपालिकामा पालिका स्तरिय अभियान सम्पन्न भइसकेका छन् । बाँकी रहेका सुनकोशी, चम्पादेवी, लिखु र खिजिदेम्बा गाउँपालिकाको पालिका स्तरिय कार्यक्रम मङ्शिर २५ देखी पुष दुई गते सम्म सञ्चालन गर्ने योजना रहेको सचिव ढुंगानाको भनाई छ ।
अभियान अन्तरर्गत नेपाली कांग्रेसका वडा, पालिका, जिल्ला, प्रदेश र केन्द्र तहका नेता कार्यकर्ताहरु परिचालित छन् । यस अवसरमा नागरिकको समस्या, माग, गुनासो बुझ्ने तथा सङ्कलन गर्ने काम भएको छ । पार्टी र जनप्रतिनिधी प्रति नागरिकको धारण बुझ्ने र गुनासो सम्बोधन गर्ने काम समेत भइरहेको छ ।
गाउँ तहमा रहेका नागरिकलाई केन्द्र विन्दुमा राखेर आवश्यक विकास, समस्या समाधान तथा उनिहरुको अबस्था नजिक बाट बुझ्ने काम भएको सचिव ढुंगानाले जानकारी दिए । आठ वटै स्थानिय तहका ७५ वटा वडा तहमा पुगेर पार्टी र जनप्रतिनिधी प्रति नागरिकको धारणा बुझ्ने कामलाई प्राथमिकता दिइएको नेपाली कांग्रेस ओखलढुङ्गाले जनाएको छ ।
पालिका तथा वडा तहमा महाधिवेश प्रतिनिधीहरुलाई र प्रदेश क र ख मा दुई जना पार्टी सभापति कमल तामाङ र नबराज केसीलाई संयोजक तोकिएको छ । अनुगमन समितिमा पार्टी सभापति तेजेन्द्र खनाल र केन्द्रीय सदस्य द्वय रामहरि खतिवडा र प्रदिप कुमार सुनुवार छन् । अगामी पुष दुई गते खिजिदेम्बा गाउँपालिकामा पुगेर नेपाली कांग्रेस ओखलढुङ्गाको सयदिने अभियान सम्पन्न हुने बताईएको छ ।
प्रतिक्रिया