ओखलढुंगामा उपनिर्वाचनः जिससमा एमालेले उम्मेदवार नउठाउने, वडामा कांग्रेस–एमाले भिड्ने

ओखलढुंगामा उपनिर्वाचनः जिससमा एमालेले उम्मेदवार नउठाउने, वडामा कांग्रेस–एमाले भिड्ने


भिजन समाचार
7.6k
Shares

जिल्ला समन्वय समिति ओखलढुंगाको प्रमुखमा नेकपा एमालेले आफ्नो उम्मेदवार नउठाउने भएको छ । तत्कालिन जिल्ला समन्वय प्रमुख डिल्लीराम खनालको डेढ वर्षअघि निधन भएसँगै रिक्त रहेको पदमा हुन लागेको उपनिर्वाचनमा कांग्रेसलाई सहयोग गर्दै एमालेले उम्मेद्वार नउठाउने भएको हो ।

कांग्रेसले जिल्ला समन्वय समिति प्रमुखमा टेकराज भट्टराईलाई उम्मेदवार बनाउने भएको छ । केही बेरमा उम्मेदवारी दर्ताको तयारी छ ।

उपनिर्वाचन अन्तरगत मनोनयन दर्ताको अघिल्लो दिन नेपाली कांग्रेसको पार्टी कार्यालयमा बसेको सत्ता गठबन्धन दल नेपाली कांग्रेस र एमालेको जिल्ला स्तरीय बैठकमा कांग्रेसलाई समन्वय प्रमुखमा सघाउने र आफ्नो उम्मेद्वार नउठाउने विषयमा एमाले नेताहरु सहमत भएका हुन् ।

जिल्लाका ८ स्थानीय तहका १६ प्रमुख उपप्रमुख मध्ये कांग्रेसको तर्फबाट ५ पालिका प्रमुख र ४ उपप्रमुख गरी ९ जनाले जितेका छन् । एमालेले १ पालिका अध्यक्ष, ४ उपसहित ५, माओवादीले १ अध्यक्ष र जसपाले १ अध्यक्ष जितेका छन् ।

जिससका मतदाता नै पालिका प्रमुख उपप्रमुम मात्रै हुने भएकाले कांग्रेसको एकल बहुमत छ ।

एमालेले उम्मेदवार नउठाएपछि कांग्रेस उम्मेदवार टेकराज भट्टराई सर्वसम्मत अबको अब साढे २ वर्ष जिसस प्रमुख बन्ने भएका छन् ।

८ स्थानीय तह रहेको ओखलढुंगामा नगरपालिका र गाउँपालिकाको प्रमुख, उपप्रमुखमा कांग्रेसकै बहुमत रहेको र जिससको नेतृत्वमा हालसम्म कांग्रेसकै उम्मेदवार निर्वाचित भएको जिल्लाको परिस्थिती र केन्द्रको सत्ता गठबन्धनको नीति अनुसार जिसस प्रमुखको उपनिर्वाचनमा एमालेले आफ्नो उम्मेद्वार नउठाएको नेकपा एमाले जिल्ला कमिटि उपाध्यक्ष कमलप्रसाद न्यौपानेले जानकारी बताए । जिल्लामा उपनिर्वाचन हुने मोलुङ ५ को वडा अध्यक्षमा भने स्वच्छ प्रतिस्पर्धा हुने उपाध्यक्ष न्यौपानेको भनाई छ । ‘जिसस प्रमुखको दावेदार पार्टीभित्र थुप्रै हुनुहुन्छ तर मतदाता संख्याको अंक गणित र केन्द्रिय सत्ता साझेदार दल भएका हिसाबले भिड्नुभन्दा मिल्नुनै उपर्युक्त ठानेर जिससमा उम्मेदार अघि सारिएन ।’ उपाध्यक्ष न्यौपानेले भने, ‘मोलुङ ६ को वडा अध्यक्षमा हामी कांग्रेससँगै भिड्दैछौं ।’ मोलुङ ५ मा कांग्रेसको विरासत तोड्ने गरी एमालेले सर्वसम्मत वडाबाटै उम्मेदवार तय गरेको उनको दावी छ ।

मोलुङ ५ एमालेका केन्द्रीय सदस्य तथा २ पटक संघिय सांसद बनेका नेता यज्ञराज सुनुवारको वडा भएकाले पनि एमालेलाई जित्नै पर्ने दवाव छ । यद्यपि यसअघिका २०७४ र २०७९ का निर्वाचनमा यो वडा कांग्रेसले जितेको थियो ।

मोलुङ ५ का वडाअध्यक्ष गोपिकृष्ण कार्कीको निधन भएपछि रिक्त पदमा एमालेका गंगाबहादुर तामाङ र कांग्रेसका घनश्याम दाहाल मुख्य प्रतिस्पर्धी बनेका छन् । यो वडामा राप्रपा र राश्वपाले पनि उम्मेदवार उठाउने तयारी गरेका छन् ।