ओखलढुंगामा एक दशकको अवधिमा ६५ जनाले ज्यान गुमाएका छन् । जिल्ला प्रशासनका कार्यालय ओखलढुंगाका अनुसार यस अवधिमा ३४१ वटा विपद्जन्य घटना घटेका छन् । त्यस मध्ये सबैभन्दा बढी २१७ आगलागीको घटना घटेको छ ।
जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको ‘जिल्ला विपद पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८१’ का अनुसार आगालागी २१७, चट्याङ ४६, पहिरो ४५, बाढी १०, भारी बर्षा नौँ, भूकम्प दुई र अन्य सात गरि ३४१ वटा विपद्का घटना भएका छन् ।
विपदका घटनामा परि २९ पुरुष र ३६ महिला गरि ६५ जनाले ज्यान गुमाएका छन् भने १३९ जना घाइते भएका छन् । एक जना बेपता छन् । यो अवधिमा २८ करोड ४६ लाख ८८ हजार ९४५ रुपैयाको क्षति भएको अनुमान गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
पछिल्लो पाँच बर्षको तथ्यांक अनुसार जिल्लामा आगलागीकै कारण छ जनाले ज्यान गुमाएका छन् । त्यसमा पनि आर्थिक बर्ष २०८०/०८१ मात्रै पाँच जनाको मृत्यु भएको छ । यस्तै घाइतेको संख्या भने पाँच रहेको छ ।
आगलागीबाट पाँच बर्षमा १३० वटा घर, ३२ गोठ तथा अन्य १०९ संरचना जलेर नष्ट भएको तथ्यांक छ । यसैबिच एक हजार ३२५ बढी पशुचौपाया मरेका छन् ।
तथ्यांक अनुसार जिल्लामा आगलागीका घटना धेरै देखिन्छ । मानवीय त्रुटिका कारण आगलागीको घटना हुने भएकाले न्युनिकरणका लागि सचेतना र कारबाहीमा कडाई हुने ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी डा. नारायण ढकालले बताए । विपद्बाट हुने क्षति न्यूनिकरणको लागि पुर्वतयारी सँगै सचेतनामा जोड दिइको प्रमुख जिल्ला अधिकारी ढकालको भनाई छ ।
प्रतिक्रिया