ओखलढुंगा । जिल्लामा विपद् पूर्वतयारी तथा प्रतिकार्यलाई प्रभावकारी बनाउन ‘विपद् कल सेन्टर’ स्थापना गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति ओखलढुंगाले कार्यालयमा रहेको आपतकालीन कार्यसञ्चालन केन्द्रलाई २४ सै घण्टा सञ्चालन हुने कल सेन्टरका रूपमा विकास गर्ने निर्णय गरेको हो ।
समिति संयोजक तथा प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्रातीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले पूर्वनिर्णयहरूको कार्यान्वयन समीक्षा गर्दै विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उक्त निर्णय गरेको हो ।
कल सेन्टरमार्फत जिल्लामा विपद्का घटना भएमा वा हुन लागेमा तत्काल सूचना आदान–प्रदान र अद्यावधिक गरिने व्यवस्था गरिएको छ । यसका लागि ०३७–५२०७३३ (ल्याण्डलाइन) तथा ९८२११५२३९८, ९८०१९२३३८१ र ९८४२९३१६०४ (मोबाइल) नम्बर सार्वजनिक गरिएको छ ।
बैठकले वन डढेलो जोखिम न्यूनीकरणका लागि डिभिजन वन कार्यालयलाई स्थानीय तह र सुरक्षा निकायसँग समन्वय गरी पूर्वतयारी, सचेतना र प्रतिकार्य कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको छ ।
त्यसैगरी, गत वर्षायाममा अविरल वर्षाका कारण क्षति भएका २७ योजनाको पुनर्निर्माणका लागि कोशी प्रदेश सरकारसँग गरिएको सिफारिस अनुमोदन गर्ने निर्णय गरिएको छ । बाढी–पहिरोबाट क्षति पुगेका ६ वटा पूर्वाधार पुनर्निर्माणका लागि करिब १ करोड ५५ लाख रुपैयाँ माग गर्ने तथा हावाहुरीबाट क्षति पुगेका सामुदायिक विद्यालयहरूको छाना मर्मत तथा पुनर्निर्माणका लागि संघीय र प्रदेश सरकारसँग सिफारिस गर्ने निर्णय पनि बैठकले गरेको छ ।
यस्तै, आगामी आर्थिक वर्षका लागि विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तयार गर्न प्रशासकीय अधिकृत रोशन श्रेष्ठको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । कार्यदलले असार १५ भित्र मस्यौदा पेश गर्ने जनाइएको छ ।

प्रतिक्रिया