ओखलढुंगामा ग्यासको पर्याप्त मौज्दात

भिजन समाचार
0
Shares

ओखलढुंगा । ओखलढुंगामा खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज रहेको व्यवसायीले बताएका छन् । केही दिनयता बजारमा ग्यास अभाव हुने हो कि भन्ने उपभोक्ताको चिन्ता बढिरहेका बेला जिल्लामा ठूलो परिमाणमा ग्यास भित्रिएको छ ।

जिल्ला सदरमुकामको प्रमुख ग्यास डिपो सिद्धिचरण नगरपालिका–१२ स्थित जेनिसा स्टोर एण्ड सप्लायर्समा हालै चार हजार सिलिन्डर ग्यास भित्रिएको छ । डिपोमा आएको ग्यास विभिन्न बिक्री केन्द्र तथा डिलरमा पठाइसकिएको सञ्चालक जेशन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार अहिले जिल्लामा तत्काल ग्यास अभाव हुने अवस्था छैन । बजारको मागअनुसार ग्यास उपलब्ध गराउने व्यवस्था मिलाइएको भन्दै उनले उपभोक्तालाई अनावश्यक रूपमा ग्यास सञ्चय नगर्न आग्रह गरेका छन् ।

यसअघि उपभोक्ताबाट ग्यास सहज रूपमा नपाएको तथा कतिपय खुद्रा पसलबाट महँगो मूल्यमा खरिद गर्नुपरेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले ग्यास डिलर तथा बिक्री केन्द्रको अनुगमन गरेको थियो । प्रशासनले सदरमुकाम र मानेभञ्ज्याङ क्षेत्रका नौ वटा डिलर तथा बिक्री केन्द्रमा अनुगमन गरेको हो ।

प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलको नेतृत्वमा गरिएको अनुगमनका क्रममा जिल्लामा ग्यासको आपूर्ति नियमित रहेको र तत्काल हाहाकारको अवस्था नरहेको पाइएको थियो ।

अनुगमनपछि प्रशासनले ग्यास डिलर तथा बिक्री केन्द्रलाई प्रत्येक पटक ग्यास भित्रिएपछि परिमाणसहित प्रशासनलाई जानकारी गराउन, बिक्रीको अभिलेख व्यवस्थित राख्न र उपभोक्तालाई समानुपातिक रूपमा ग्यास वितरण गर्न निर्देशन दिएको छ ।

ग्यास लुकाएर कृत्रिम अभाव सिर्जना गर्ने वा तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने व्यवसायीमाथि कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ । ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित बनाउन अनुगमनलाई निरन्तरता दिने प्रशासनको भनाइ छ ।

प्रशासनले उपभोक्तालाई पनि आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न र कृत्रिम अभाव तथा कालोबजारी हुन नदिन सहयोग गर्न आग्रह गरेको छ ।