ओखलढुंगा पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

ओखलढुंगा पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा


भिजन समाचार
636
Shares

ओखलढुंगालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । राष्ट्रिय खोप कार्यक्रमको तालिकाअनुसार बालबालिकाले पाउनुपर्ने सम्पूर्ण खोप लगाइसकेको सुनिश्चिततासहित पूर्णखोप जिल्ला घोषणा गरिएको हो ।

जिल्लास्तरीय खोप समन्वय समिति र जिल्ला स्वास्थ्य कार्यालयले मंगलबार जिल्ला सदरमुकाममा एक कार्यक्रम आयोजना गरी सो घोषणा गरेका हुन् । जिल्ला स्वास्थ्य कार्यालय प्रमुख कर्मचन्द्र राजवंशीका अनुसार जिल्लाका आठ पालिकाका ७५ वटै वडामा १६ देखि ५९ महिना उमेर समूहका कुल चार हजार ७६२ जना बालबालिकाहरुले १५ महिना उमेर भित्र राष्ट्रिय खोप तालिका अनुसार पुर्ण खोप पाइसकेका छन् ।

यस्तै जन्म देखि १५ महिना उमेर समूहका एक हजार ९३७ जना बालबालिकाहरुले पनि उमेर अनुसार नियमिति खोप पाइसकेका छन् । जिल्लाका सबै बालबालिकाले खोप पाएको सूनिश्चितता भएकोले जिल्ला स्वास्थ्य प्रमुखको प्रस्ताव अनुसार जिल्ला खोप समन्वय प्रमुख एवम् समिति संयोजक तारा कार्कीले पुर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको जिल्ला घोषणा गरेकी हुन् । जिल्ला समन्वय समितिका उप–प्रमुख समेत रहेकी कार्कीले पूर्ण खोप सुनिश्चिततालाई दिगोपना राख्नुपर्ने बताइन् ।

अभियानमा सक्रियतापूर्वक सहभागी हुने महिला स्वास्थ्य स्वयम् सेवीकालाई पुरस्कृत गर्ने योजना पनि आगामी कार्याक्रममा समेट्न उनको सुझाव थियो । कार्यक्रममा ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी डा. नारायण ढकालले खोपले बालबालिकालाई विभिन्न रोगबाट सुरक्षित रहन महत्त्वपूर्ण भूमिका खेल्ने बताए । सबैको प्रयासमा पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा भएकोले मानव जीवनसँग जोडिएको बिषयमा जिल्लाकै लागि एक उपलब्धी भएको उनको भनाई थियो । एकपटक पूर्णखोप घोषणा गरिसकेपछि हरेक वर्ष नयाँ थपिने बालबालिकाहरूले समेत खोपको मात्रा पूरा गरेको सुनिश्चित गरेर मात्र सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने गरिएको जिल्ला स्वास्थ्य प्रमुख राजवंशीले बताए ।

स्थानीय तहका वडाहरूबाट स्वास्थ्यकर्मीको सङ्लग्नतामा तयारी र योजनासहित घरपरिवार सर्वेक्षण गरी सर्वेक्षणको क्रममा खोप पूरा नगरेका बालबालिका भेटिए तत्काल खोप लगाउने व्यवस्थासमेत मिलाई सबै बालबालिकाले उपलब्ध सबै खोप पाएको सुनिश्चत गरेपछि वडा घोषणा गरिन्छ । सबै वडा घोषणा भएपछि पालिका र सबै पालिका घोषणा भएपछि जिल्ला घोषणा गर्ने गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ढकाल, जिसस उप–प्रमुख कार्की, सबै सुरक्षा निकायका प्रमुख एवम् प्रतिनिधि, जिल्ला स्वास्थ्य प्रमुख राजवंशी, जिल्ला अस्पताल प्रमुख डा. साजन दुवाल, जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, पत्रकार लगायत सरोकारवालाको सहभागीता थियो ।