भिजन आइडलको चौथो संस्करण हुँदै : डिजिटल अडिसन १० दिन हुने

भिजन आइडलको चौथो संस्करण हुँदै : डिजिटल अडिसन १० दिन हुने


भिजन समाचार
9.2k
Shares

भिजन आइडलको चौथो संस्करण सञ्चालन हुने भएको छ । भिजन एफएमको वार्षिकोत्सवको अवसरमा ओखलढुंगामा भिजन आइडलको चौथो संस्करण सञ्चालन हुने भएको हो ।

आमसञ्चारका माध्यमबाट सुशासन प्रवद्र्धन गर्दै जिल्लाको विकास र रुपान्तरणमा भूमिका खेल्दै आएको भिजन नेपालले कला र साहित्यको उर्वरभूमी ओखलढुंगामा वार्षिकोत्सवका अवसरमा २०७३ सालदेखि हरेक वर्ष भिजन आइडल र भिजन डान्सिङ स्टार सञ्चालन गर्दै आएको छ । भिजन आइडलको चौथो संस्करण भोली माघ १० गतेबाट सुरु गरिने भिजन नेपालका अध्यक्ष पूर्णप्रसाद न्यौपानेले बताए । ग्रामिण क्षेत्रका युवाहरुको प्रतिभा पहिचान गर्दै कला र संस्कृतिको विकास गर्ने भिजन आइडललाई यसवर्ष प्रविधिमैत्री बनाइने छ ।

आइडलको डिजिटल अडिसन १० दिन सञ्चालन हुनेछ । आइडलका प्रतिस्पर्धीले यहि माघ १० गतेदेखि २० गतेसम्म नेपाली भाषाका गीत गाएर भिडियो बनाई भिजनमा पठाउनुपर्ने छ । भिजन एफएमको आधिकारीक फेसबुक पेज : Vision FM 90.5 MHz. Okhaldhunga को म्यासेन्जर वा ह्वाट्स एप नम्बर 9842991511 मा बढीमा २ मिनेटको भिडियो (गीत) पठाउनु पर्नेछ ।

डिजिटल अडिसनबाट प्राप्त भिडियो मध्येबाट उत्कृष्टलाई लाईभ प्रतिस्पर्धाका लागि छनोट गरिनेछ । डिजिटल अडिसनबाट छनोट भएकाहरु बीच माघ २९ गते ओखलढुंगा सदरमुकाममा लाइभ प्रतिस्पर्धा हुनेछ ।  फाल्गुण १ गते चार जना फाइनलिष्ट छनोट गरिने र फागुन २ गते रेडियो स्थापना दिवसको दिन फाईनलिष्ट चार जना बीच फाईनल प्रतिस्पर्धाबाट आइडल, फस्ट रनरअप र २ जना फाईनलिष्ट   घोषणा हुनेछ ।

आइडल विजेताले ३० हजार ३ सय ३३ तेत्तिस नगद र ट्रफि, फस्ट रनरअपले १५ हजार ५ सय ५५ नगद र ट्रफि र २ जना फाईनलिष्टले नगद ५ हजार ५ सय ५५ र ट्रफि प्राप्त गर्ने छन् ।

फाल्गुण २ गते भिजन एफएमको सातौं स्थापना दिवसका अवसरमा जिल्लाको विकास र समृद्धिका लागि सञ्चारको भूमिका विषयक जिल्ला स्तरीय अन्तरक्रियालगायतका कार्यक्रम समेत गरिने भिजनले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

भिजन नेपालले ओखलढुंगामा भिजन एफएम ९०.५ मेगाहर्ज, भिजन नेपाल साप्ताहिक पत्रिका र भिजनसमाचारडटकम अनलाईन सञ्चालन गरिरहेको छ ।