एमालेसँग एक्लै चुनाव लड्ने सामार्थ्य कुनै दलसँग छैन : प्रमुख गौतम

एमालेसँग एक्लै चुनाव लड्ने सामार्थ्य कुनै दलसँग छैन : प्रमुख गौतम


भिजन समाचार
1.9k
Shares

नेकपा एमालेका प्रचारविभाग प्रमुख राजेन्द्र गौतमले एमालेसँग एक्लै चुनाव लड्ने सामाथ्र्य नेपालका कुनै दलसँग नभएको बताएका छन् । ओखलढुंगामा आयाजित प्रचार कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै पार्टी स्थायी कमिटी सदस्य समेत रहेका नेता गौतमले नेकपा एमालेसँग कुनै एक दलले नसकेर सबै दल मिलेर गठबन्धन गरेको बताएका हुन् ।

नेकपा एमालेको छायाँसँग गठबन्धनदलहरु डराएको टिप्पणी गर्दै आम निर्वाचन देखि वन र विद्यालय व्यवस्थापनसमितिका चुनावमा समेत एमालेसँग एक्लै नसकेर गठबन्धन गर्ने गरेको बताए । ‘राष्ट्रिय राजनीतिमा अहिले २ धारको विकास भएको छ । एकातर्फ राष्ट्र, राष्ट्रिय र गणतन्त्रलाई संस्थागत गर्दै समृद्ध नेपाल सुखी नेपालीको यात्रा तय गरेको जनताको पार्टी नेकपा एमाले छ । अर्को तर्फ असफलहरुको झुण्डको गठबन्धन छ ।’ गौतमले भने, ‘अहिलेको गठबन्धन नेकपा एमालेको छायाँ देख्दा पनि त्रसिन्छ । ठुला ठुला निर्वाचनमा मात्रै होइन गाउँटोलका वन समिति र विद्यालयका चुनावमा पनि एमालेसँग भिड्न सबै मिलेर आउँछन् र पनि एमालेले धेरैठाउँ जितेकै छ ।’ वर्तमान गठबन्धन सरकारले जनतालाई आशा र देशलाई विकास दिन नसकेको आरोप लगाए । एमाले सत्तामा नहुँदा पनि जनताले भरोसा राखेको उनको भनाई छ ।

प्रचार विभागले पार्टीका कामलाई अभियानात्मक रुपमा अघि बढाउने बताउँदै २०८१ सालमा एमालेले पार्टी शुद्धिकरण र सुदृढिकरणको वर्षका रुपमा अभियान चलाउने प्रमुख गौतमले जानकारी दिए । जनताको बलमा आगामी २०८४ को निर्वाचनमा एमालेले बहुमत ल्याउने उनको दावी छ ।

जिल्ला इन्चार्ज खगेन्द्र राई विभागहरुले कार्यक्षेत्र अनुसारका काम गर्नुपर्ने बताए । कार्यकताहरु सिर्जनात्मक बन्नुपर्ने र नेताहरु सकृय बन्नुपर्ने उनको भनाई थियो । ओलढुंगामा प्रचारविभागले आयोजना गरेको कार्यशालाले पार्टी निर्माणमा महत्वपूर्ण योगदान गर्ने र यसले संगठनभित्र गति पैदा गर्ने बताए ।

पार्टीका प्रदेश कमिटी सचिवालय सदस्य एवम् संघीय निर्वाचन क्षेत्र इन्चार्ज अम्बिरबाबु गुरुङले नेपाली राजनीति प्रचारात्मक बनेकाले पार्टी र कार्यकर्ता प्रचारमा चलायमान हुनुपर्ने बताए । विगतमा एमालेका जनप्रतिनिधिबाट भएका कामको समिक्षा र विश्लेषणसहितका सुचनाहरु सम्प्रेषण गर्नुपर्ने बताए । विगतको समिक्षा गरेर आगामी योजना तय गर्नुपर्ने र परिवर्तनका लागि लिएको एमालेको संकल्प जनताका बिचमा स्पष्टसँग जानुपर्ने बताए ।

प्रदेश कमिटी सदस्य नानीबाबु बुढाथोकीले पार्टीको पक्षमा प्रचारका काम र एमालेका जनप्रतिनिधिले जनताका बीचमा खेलेको भूमिकाका बारेमा यथेष्ट प्रचार गर्नुपर्ने बताए । पार्टी र पत्रकारबीचमा सम्बन्ध प्रगाढ बनाएर जिल्लामा प्रकारका काम थप व्यवस्थित बनाउनुपर्ने बताए ।

प्रदेश कमिटी सदस्य मोहनकुमार श्रेष्ठले प्रचार कार्यशालाले जिल्लामा पार्टीलाई थप चलायमान बनाउने बताए । प्रचारका कामले कार्यकतामा उत्साह बढ्ने र जनतामा आशा जगाउने बताए ।

नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष शंकर कट्वालले जिल्ला पार्टी र विभागहरुले जिम्मेवारी अनुसारका सकृयता बढाएर पार्टीलाई मजबुत बनाएको बताए । आगामी दिनमा तल्लो तह सम्म प्रचार र प्रशिक्षणका काम लैजाने बताए ।

प्रचार विभाग प्रमुख राजिव कट्वालले स्वागत मन्तव्य राख्दै जिल्लामा पार्टी प्रचारका काम व्यवस्थित बनाउन प्रचार विभागले योजना बद्ध काम गरिरहेको बताए । कोशी प्रदेशमै पहिलो पटक ओखलढुंगामा प्रचार कार्यशाला आयोजना गरेर प्रशिक्षणको कार्यक्रम गरिएको उनको भनाई थियो ।

कार्यशालामा केन्द्रिय प्रचार विभाग सचिव गगन विष्ट, केन्द्रिय प्रचार विभाग सदस्य दिपक ज्ञावली, प्रेस चौतारी लेखा आयोगका सचिव संगम महत, प्रेस चौतारी अनुशासन आयोगका सचिव पूर्णप्रसाद न्यौपाने र मोलुङ गाउँपालिका अध्यक्ष उत्तम राईले सहजिकरण गरिरहेका छन् ।