समस्या बुझ्दै समाधान खोज्दै सभापति खतिवडा

भिजन समाचार
104
Shares

संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले गृह जिल्ला ओखलढुंगाको विकासमा सकृयता बढाएका छन् । आफ्नो निर्वाचन क्षेत्रका मतदातासँगको बाक्लो भेटघाटमा जुटेका सभापति खतिवडा गाउँ गाउँमा पुगेर समस्या बुझ्दै तत्काल समाधान खोज्नमा लागेका हुन् ।

राजधानीमा समितिका बैठक र संसद नचलेको समयमा सभापति खतिवडा जिल्लाबासीका माझ आउने, चुनावी वाचा पुरा गर्ने र अधुरा विकासलाई पूर्णता दिने काममा लागेका छन् । उनले  औपचारिक कार्यक्रमका लागि आयोजकबाट निमन्त्रणा भएर जिल्ला आउँदा दर्जनौं अनौपचारिक भेटघाट गरेर नागरिक सरोकारका विषयमा छलफल गरिरहेका छन् ।

देशको निकास र जिल्लाको विकाससँगसँगै अघि बढाउन आफुले सक्दो पहल गरिरहेको सभापति खतिवडाले बताए । ‘संघीय संसदमा समितिको सभापतिका हैसियतले देशको निकासका लागि र ओखलढुंगाको सांसदका हैसियतले जिल्लाको विकासका लागि रातदिन खटिरहेको छु । जिल्लाबासी जनताका बीचमा आउँदा समस्या बुझ्ने र समाधान खोज्ने गरेको छु ।’ खतिवडाले भिजनसँग भने, ‘थुप्रै रुग्ण प्रकृतिका अधुरा आयोजनाहरु पुरा गर्नुछ । नयाँ गौरवका योजनाहरु ल्याएर समृद्ध ओखलढुंगा निर्माणको लक्ष्य छ । त्यो भन्दा पहिला गाउँ गाउँमा बत्ति पानी सिंचाइ जस्ता आधारभुत सेवा सुविधा पु¥याउनुपर्ने छ ।’ खतिवडाले गाउँगाउँमा पुग्दा स्थानीय तहका जनप्रतिनिधि, सरोकारवाला र अगुवा सबैलाई एकैठाउँ बोलाएर सामुहिक भेट गर्ने गरेका छन् ।

पछिल्लो समय राष्ट्रियसभाको निर्वाचनका लागि मतमाग्न उम्मेदवारसहित जिल्ला आएका  सभापति खतिवडाले मतदाता र उम्मेदवारहरुसँगको साक्षात्कारपछि जिल्लाबासीसँगकै भेटघाटलाई निरन्तरता दिएका छन् ।

विहिबार सिद्धिचरण नगरपालिकाको माथिल्लो क्षेत्रमा टेलिकमको टावर निर्माणका लागि नेपाल टेलिकमका प्रतिनिधि र स्थानीय जनप्रतिनिधिसहित पुगेका खतिवडाले शुक्रबार रामपुर, प्राप्चा, श्रीचौर क्षेत्रका स्थानीयसँग सडक स्तरोन्नती, विद्युत विस्तारलगायतका विषयमा छलफल गरेका छन् । उज्यालो ओखलढुंगा अभियानलाई तिव्रता दिने र तत्काल काम अघि बढाएर यस आर्थिक वर्ष भित्रै मोलुङ क्षेत्रका सबै घरमा केन्द्रिय विद्युत बाल्नेगरी काम अघि बढाउन सभापति खतिवडाले विद्युत प्राधिकरण र विद्युत विस्तारको जिम्मा लिएका कम्पनीलाई निर्देशन दिएका छन् । शनिवार रुम्जाटारको विकास अवलोकन गर्ने र नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागी हुने कार्यक्रम छ ।

सभापति खतिवडाले अघिल्ला भ्रमणहरुमा उठाएका सवाललाई पछिल्ला भेटहरुमा पुनःअनुगमन गरेर भए गरेका काम र प्राप्त उपलब्धि जनताका बीचमा लिएरजाने गरेका छन् ।