ओखलढुंगाको मोलुङ गाउँपालिकाले सिजनल भिजामा कामदार कोरिया पठाउने भएको छ । पालिकाभित्रका विदेशीन चाहने बेरोजगार युवाहरूलाई रोजगारीका लागि पालिकाले समन्वय गरेर सिजनल भिजामा कोरिया पठाउने भएको हो ।
नेपालबाट आफ्नो क्षेत्रका युवालाई रोजगारीका लागि पठाउन मोलुङ गाउँपालिकाले कोरियाको स्थानीय तहसँग भगिनीसम्बन्ध गाँसेर शनिवार दोहोरो सम्झौता गरेको छ । कोरियाबाट पहिलो ८ महिनाका लागि कामदारको माग हुने र त्यसमा मोलुङका इच्छुक युवालाई पठाइने गाउँपालिका अध्यक्ष उत्तम राईले बताए । वर्षमा ८ महिना काम हुने त्यो समयमा कोरिया जाने र बाँकी ४ महिना बिदामा नेपाल फर्किएर अर्को वर्ष फेरि ८ महिनाका लागि कोरियाको माग अनुसार नेपालबाट युवाहरु जान पाउने अध्यक्ष राईको भनाई छ । दुई देशका स्थानीय तहहरुबीच दोहोरो सम्झौता भएकाले कामदारको सुरक्षा, राजगारीको सुनिश्चिततालगायतका सवालमा समस्या नआउने यद्यपी यसविषयमा भर्खर काम सुरु भएकाले यथेष्ट जानकारी लिएर मात्रै काम अघि बढाउने अध्यक्ष राईले भिजनसँग बताए । ‘युवाहरु विदेश जानु वा हामी स्थानीय सरकारले नै युवालाई विदेश पठाउनु राम्रो होइन । आफ्नै गाउँठाउँ र देशमै आत्मनिर्भर बन्नुपर्छ ।’ अध्यक्ष राईले भने, ‘अहिलेको परिस्थितीमा युवाहरु देशमा बस्न भन्दा विदेश जाननै बढी रुचाएको सन्दर्भमा हामीले त्यहाँको रोजगारदातासँग परामर्श र समन्वय गरेरै जानेलाई राम्रो ठाउँमा राम्रो काममा पठाउन सकिन्छ भनेर त्यहाँको स्थानीय तहसँगै भगिनी सम्बन्ध गाँसेर सम्झौता गरियो यसको २ महिनापछि थप योजनाहरु आउनेछन् अनिमात्रै काम अघि बढ्नेछ ।’ प्रारम्भिक सम्झौतापत्रमा कम्पनीले कामदारहरूको मानवअधिकार सुरक्षा गर्दै कामका लागि अनुकूल अवस्था बनाउने, गाउँपालिकाले कामदारहरूको समय घर्किनेबित्तिकै नेपाल फर्काउने ग्यारेन्टी गर्नेलगायतका बुँदाहरू समेटिएका छन् ।
सिजनल भिजामा कोरिया गएकाहरु उतै भागेर बस्ने गरेका कारण पछि समस्यामा पर्ने भएकाले कोरियाको डोङबाङ डीएस सीस्टम लिमिटेड लगायतका कम्पनी त्यहाँका स्थानीय तहले नेपालका जिम्मेवार निकाय र स्थानीय तहसँगै कामको सिजनमा कोरिया लैजाने र काम सकिएपछि अर्को सिजन सुरु नहुँदा सम्म नेपाल फर्काउने ग्यारेन्टीका लागि दोहोरो सम्झौता गरिरहेको कोरियाका प्रतिनिधि, डोङबाङ डीएस सीस्टम लिमिटेड कम्पनीका प्रमुख कार्यकारी अधिकृत जीओन्ची राजाले बताए ।
सम्झौता आधिकारिक हस्ताक्षर भएको एक वर्षसम्म लागू हुने सम्झौतापत्रमा उल्लेख छ ।
सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले पनि कोरियन कम्पनीसँग सिजनल भिजामा कामदार पठाउने गरी भर्खरै सम्झौता गरेको छ ।
प्रतिक्रिया