नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले बाहकेका पार्टीले नेपाललाई समृद्ध बनाउन नसक्ने बताएका छन् । ओखलढुंगाको टोक्सेल हर्कपुरमा आयोजित नेकपा एमालेको विशाल जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले बाहेकका पार्टीबाट मूलुकको विकास सम्भव नहुने बताएका हुन् ।
नेकपा एमालेको नेतृत्वमा सरकार हुँदा २ दिनमा गरेको काम अहिलेको सरकारले १ वर्षमा पनि गर्ननसकेको ओलीको टिप्पणी थियो । ‘सरकारी तथ्याङ्क नै हेरौं, एमालेको सरकार हुँदा २ दिनमा गरेको काम अहिलेको सरकारले १ वर्षमा पनि गर्नसकेको छैन ।’ ओलीले भने, ‘फेरिपनि एमाले बाहेकका सबै पार्टी मिल्दा पनि सरकार चलाउन सकेनन् मुलुकलाई विकास र निकास दिन सकेनन् भन्ने आम नागरिकको बुझाइपाएँ ।’ नेकपा एमालेले जारी राखेको संकल्प यात्राले जनताका मुद्धा स्थापित गराउने अध्यक्ष ओलीको भनाई थियो ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको गठबन्धन सरकार साम्प्रदायिकताको जगमा उठेको आरोप लगाएका छन् । मध्यपहाडी यात्राको क्रममा ओखलढुंगाको हर्कपुरमा आयोजित आमसभालाई सम्बोधन गर्दै गठबन्धनले साम्प्रदायिकताको पक्षलाई भित्रभित्र बढावा दिइरहेको उनको भनाइ छ ।
अध्यक्ष ओलीले भने, ‘एमालेले मात्रै सामाजिक न्याय र समानता कायम गर्ने आधारमा सामाजिक सद्भाव र सामाजिक सद्भावका आधारमा राष्ट्रिय एकता कायम गर्ने र देशको विकास गर्नसक्छ । त्यसैले म आग्रह गर्छु, भावनामा बग्न हुँदैन । हाम्रा दाजुभाइ, दिदीबहिनीहरू अनावश्यक भावनामा बगेका छन् भने त्यस्ता भावनाले देश बन्दैन ।’
उनले देश बनाउन बलियो राष्ट्रिय एकता, समझदारी चाहिने बताए । पहिचानवादीको आन्दोलनालाई लक्षित गर्दै उनले भने, ‘जनताका बीचमा फाटो ल्याउने होइन । जनताका बीचमा राष्ट्रिय एकता बनाउनुपर्छ । राजनीतिक विचारमा मतभेद हुनसक्छ । ती मतभेदको समाधन गर्ने वैधानिक प्रक्रिया छन् । कानूनी प्रक्रियाबाट, शान्तिपूर्ण बाटोबाट, आवेश–उत्तेजनामा होइन । सँगै बसेर छलफलबाट ती कुराहरूको औचित्य पुष्टि गर्नुपर्छ । त्यस औचित्यको आधारमा समस्या समाधान गर्नुपर्छ । एमालेको त्यो नीति छ ।’
अध्यक्ष ओलीले देशको समस्या समाधान गर्न एकजुट भएर अघि बढ्न आग्रह गरे । उनले मिसन २०८४ एमालेको लागि नभइ देशको लागि भएको जिकिर गरेका छन् ।
उनले देशको हित, राष्ट्रिय स्वतन्त्रता र सार्वभौमसत्ताको रक्षा एमालेले मात्रै गर्न सक्ने दाबी गरे । अध्यक्ष ओलीले भने, ‘जति बेला एमाले सरकारमा गएको छ, देशमा समृद्धि ल्याउने काम गरेको छ ।’
विकासको सन्दर्भमा उनले एयरपोर्ट, बाटोघाटो निर्माण, खानेपानीको व्यवस्था र कृषिको विकासमा एमालेले काम गरेको दाबी गरे । अहिले विकास निर्माण ठप्प भएको उनको भनाई थियो ।
प्रतिक्रिया