डम्पिङ साइडलाई खेल मैदान बनाएका अम्बिर गुरुङले भने–‘विकासका थुप्रै योजना अधुरै रहे’

डम्पिङ साइडलाई खेल मैदान बनाएका अम्बिर गुरुङले भने–‘विकासका थुप्रै योजना अधुरै रहे’



पूर्वमन्त्री अम्बिरबाबु गुरुङले ओखलढुंगाको विकासका आफ्ना योजना अधुरा बनेको बताएका छन् । कोशी प्रदेशका पूर्व भौतिक पुर्वाधार विकास मन्त्री गुरुङले आफु मन्त्री हुँदा वार्षिक अरबौं बजेट जिल्लामा ल्याएर विकास गरेको स्मरण गर्दै आफुले चुनाव हारेपछि जिल्लाको विकासपछि परेको बताएका हुन् ।

व्यक्तिगत रुपमा आफ्नो पराजयलाई सामान्य लिएको भएपनि जिल्लाको विकास निर्माण सुस्ताउनु दुःखद् भएको उनको भनाई थियो । संयुक्त यथार्थ युवा क्लबले सिद्धिचरण नगरपालिका–९ खोदम्पा ज्यामिरेको पाँचौँ बार्षिकोत्सवलाई सम्बोधन गर्दै पूर्वमन्त्री गुरुङले अघिल्लो ५ वर्षमा सुरु भएका विकासका आयोजना बजेट नभएर रोकिएको र नयाँ योजना सञ्चालनमा नआएको बताए । ‘मैले वर्षेनी अरबौं अरब बजेट ल्याएर गौरवका योजना चलाउँदा मेरै विरोध गर्नेहरुले अहिले कति बजेट आयो र के के विकास भयो भन्ने देखिरहेकै होलान् । तर  जिल्लाको विकास पछि पर्नुहुँदैन, विकासमा सबै एकजुट हुनुको विकल्प छैन । ’ ज्यामीरेको खेल मैदानलाई देखाउँदै उनले भने,‘यो फोहोर फाल्ने डम्पिङ साइड जस्तो ठाउँ थियो । यहाँका युवाहरुले बजेट माग्नुभयो मैले बजेटको व्यवस्था गरिदिएँ यति सुन्दर खेल मैदान बन्यो । यस्ता धेरै काम त्यो बेला भए तर अरु थुप्रै योजना अधुरै रहे ।’ ज्यामीरेमा खेल मैदान निर्माणका लागि पूर्वमन्त्री गुरुङले तत्कालिन अवस्थामा १० लाख बजेट व्यवस्था गरिदिएका थिए ।

नेकपा एमाले प्रदेश कमिटी सदस्य समेत रहेका गुरुङले गाउँ, समाज र देश निर्माणको योजना लिएर अघि बढ्न युवाहरुलाई आग्रह गरेका छन् ।

युवा देश र समाजको मेरुदण्ड भएकाले सकारात्मक सोच र चिन्तनका साथ अघि बढ्न उनको आग्रह छ । विकास निर्माणमा भएका ढिलासुस्ती, आफ्नो क्षेत्रमा भएका समस्या तथा गुनासोहरुमा युवाहरुले आवाज बुलन्द पार्नुपर्नेमा उनले जोड दिए ।

युवा एकजुट भएर लागे देशमा सुशासन, समृद्धि र आर्थिक उन्नति हासिल हुने पूर्वमन्त्री गुरुङले बताएका छन् ।

क्लबले बार्षिकोत्सवको अवसरमा वडाका १२ जना अपांगता भएका व्यक्ति र एक जना जेष्ठ नागरिक गरि १३ जनालाई खादा र नगद् सहित सम्मान गरेको छ । वृद्ध तथा अपांगता भएकाहरुलाई कार्यक्रममा प्रमुख अतिथि एवम पूर्वमन्त्री गुरुङले नगद् हस्तान्तरण गर्दै खादा लगाएर सम्मान गरेका थिए ।

कार्यक्रमको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमसँगै तिहार विशेष शुभकामना आदान–प्रदान कार्यक्रम समेत गरिएको क्लबका सचिव चोलेन्द्र भुजेलले बताए । क्लबलाई पूर्वमन्त्री गुरुङले निरन्तर सहयोग गर्दै आएका छन् ।

जिल्लामा युवालाई अघि बढाउन खेलकुद र व्यवसायीक क्षेत्रमा पूर्वमन्त्री गुरुङले दशकौं अघि देखि प्रोत्साहन गर्दै आएका छन् ।