सरकार अपराधीको संरक्षक बन्यो : एमाले नेता महेश बस्नेत

सरकार अपराधीको संरक्षक बन्यो : एमाले नेता महेश बस्नेत



नेकपा एमालेका नेता महेश बस्नेतले वर्तमान सरकार अपराधीको संरक्षक बनेको बताएका छन् । नेपाल राष्ट्रिय युवा संघ ओखलढुंगाको सातौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै नेता बस्नेतले ठुला ठुला अपराधमा संलग्न मुख्य दोषीलाई सरकारले संरक्षण गरेको बताएका हुन् ।

ललिता निवास जग्गा प्रकरणमा माधव नेपाल र बाबुराम भट्टराईलाई बचाउ गरेर सत्ता टिकाउन लागेको सरकारले नक्कली भुटानी शरणार्थी काण्डमा हाइप्रोफाइल नेताको नाम जोडिएपछि अनुसन्धान प्रभावित बनाएको र सुन काण्डमा माओवादीकै नेताको नाम जोडिएका प्रमाणहरु सार्वजनिक हुँदा पनि कारबाही नगरी संरक्षण गरेर अपराध संरक्षणमा लागेको बस्नेतको भनाइ छ । ‘प्रचण्ड, शेर बहादुर के भगवान् हुन् र ? सबैलाई तथास्तु गर्दै माफी दिंदै हिड्ने ? जो मुख्य नाइके हो उनीहरुलाई उन्मुक्ति दिएर, निर्दोषलाई फसाउने सरकारको नियत ठिक छैन । एमाले र युवा संघ अब चुप लागेर बस्न हुन्न ।’ एमाले पोलिटब्युरो सदस्य बस्नेतले भने, `अहिलेको गठबन्धन सरकारले जनताको हित र देशको विकास गर्दैन । केवल सत्तामा टिक्ने र सरकारमै बसेर अपराध गर्ने, आतंक मच्चाउने काम गरिरहेको छ ।´सरकारले ललिता निवास प्रकरणमा भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङ लगायतलाई फसाएर अनावश्यक दुःख दिएको उनको भनाई थियो ।

मुख्य नाइकेलाई छाड्ने र निर्दोष व्यक्तिलाई दुःख दिने सरकारको नियत गलत रहेको नेता बस्नेतले बताए ।

बस्नेतले विकास निर्माण, सुशासन र समृद्धिको सवालमा युवाहरु चनाखो भएर खबरदारी गर्न जिल्लाका युवा नेताहरुलाई निर्देशन दिएका छन् ।

राष्ट्रिय युवा संघ ओखलढुंगाको सातौं जिल्ला अधिवेशन सदरमुकाममा जारी छ ।
युवा संघ ओखलढुंगाका अध्यक्ष विनोद खत्रीको अध्यक्षतामा भएको अधिवेशन उद्घाटन समारोहलाई युवा संघका केन्द्रीय नेता र जिल्ला स्थित पार्टीका नेताहरुले सम्बोधन गरेका थिए ।